लुटपाट गर्न वृद्धाको हत्या गर्ने थानकोटका एकसहित पाँच जना पक्राउ

Thankot Times

थानकोट ।

चितवनको रत्ननगर नगरपालिकाकी ६३ वर्षीया सुकमायादेवी तामाङको हत्या उनले लगाएका गहना र जम्मा गरेको नगद लुट्ने उद्देश्यले भएको चितवन प्रहरीले जानकारी दिएको छ।

गत पुस २६ गते उनी रत्ननगर-४ स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् ।

उनको हत्यामा संलग्न भएको आरोपमा चितवन प्रहरीले पाँच जना पक्राउ गरेको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका-२२ स्थायी घर भइ रत्ननगर-१० बस्ने ४६ वर्षका शुक्रबहादुर भोलोन, जितपुर सिमरा-२२ नै घर भएर ललितपुर महानगरपालिका-१० च्यासल बस्ने ४२ वर्षका सूर्यमान वाइबा, धादिङ थाक्रे गाउँपालिका-५ का ३२ वर्षका बुद्धिमान लामा, स्याङ्जा बिरुवा-८ पेल्का घर भइ रत्ननगर-४ बस्ने ३१ वर्षका मिलन भन्ने कौबहादुर गुरूङ र मकवानपुर थाहा नगरपालिका घर भइ थानकोट बस्ने ४७ वर्षका हीराबहादुर स्याङ्ताङलाई पक्राउ गरेको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले शुक्रबहादुर र बुद्धिमानले लुटपाट गर्ने योजनाका साथ अन्य तीन जनाको सहयोग लिएर वृद्धा हत्या गरेको खुल्न आएको बताए । शुक्रबहादुर दुई वर्षअघिसम्म सुकमायाकै घरमा डेरा गरेर बसेको पनि उनले बताए ।

सुकमायाको घरबाट सुनका गहना, मोबाइल र नगद एक लाख रूपैयाँ गरी १५ लाख ३६ हजार ७ सय रूपैयाँ हराएको आफन्तले प्रहरीलाई जानकारी गराएका थिए । घटनापछि प्रहरीले तालिम प्राप्त कुकुर र अन्य प्रविधिको सहय‍ोगमा अनुसन्धान गरेको थियो ।

शुक्रबहादुर रत्ननगरकै चित्रसारीबाट र सूर्यमान सौराहाचोकबाट पक्राउ परेका हुन् । बुद्धिमान नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-४ सर्दी बगौंचाबाट, कौबहादुर मुग्लिङ नजिक फिस्लिङबाट र हीराबहादुरलाई काठमाडौं थानकोटबाट समातिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले सुकमायाले प्रय‍ोग गर्ने गरेको एउटा मोबाइल र पैैसा राख्ने पर्स उनीहरूबाट बरामद गरेको छ । पक्राउ परेकाहरू विरुद्ध कर्तब्य ज्यानका साथै डाँका अपराधमा मुद्दा अगाडि बढाउन इलाका प्रहरी कार्यालय रत्ननगरले अनुसन्धान गरिरहेको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *