नैकापको न्यू डायमन्ड क्लबले जित्यो टाइगर कपको उपाधि

Thankot Times

थानकोट ।

पोखरामा भएको छैठौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि न्यू डायमन्ड स्पोर्ट्स क्लबले जितेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार सम्पन्न फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमन्डले उपाधि जितेको हो । न्यू डायमन्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो ।

उपाधिसँगै न्यू डायमन्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पार्‍यो । उपविजेता बनेको पुलिसले तीन लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्‍यो । महिलातर्फ थाइल्यान्ड क्विन्स तृतीय हुन सफल भयो । थाइल्यान्ड क्विन्सले दुई लाख ६ हजार ६६६ रपैयाँ पुरस्कार पायो ।

प्रतियोगितामा न्यू डायमन्डकी सुमित्रा रेग्मी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले २६ हजार ६६६ रुपैयाँ प्राप्त गरिन् । उत्कृष्ट सर्भर प्रतिभा माली, लिविरो शान्तिकला तामाङ, सेटर प्रगति नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विधागततर्फ उत्कृष्ट बने । उनीहरूले जनही ११ हजार ६६६ रुपैयाँ प्राप्त गरे । अघिल्लो संस्करणमा महिलातर्फको उपाधि आयोजक टोली टाइगर ग्रुपले जितेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबीच खेल हुँदैछ । उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यही माघ ९ गतेदेखि जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ पाँच टोली सहभागी भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *