साफ यू-१९ महिला च्याम्पियनसिप पोखरामा सुरु, नेपाल पहिलो खेलमा पराजित
थानकोट ।
साफ यू१९ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा आयोजक नेपाल भारतसँग १–० ले पराजित भएको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए थियो ।
खेलको ४९ औँ मिनेटमा भारतकी पर्ल फर्नान्डेजले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
खेल अवधिभर भारतले घरेलु टोली नेपाललाई दबाबमा राखेको थियो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासंघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता ‘राउण्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछ ।
लिग चरणपछि शीर्ष दुई टोलीले २४ माघमा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।















