सिड्नी थन्डर र नेपाल क्रिकेट टोलीबीच अभ्यास खेलको तयारी
थानकोट ।
अष्ट्रेलियाको प्रतिष्ठित टी-२० लिग बिग ब्यास लिग (बीबीएल) को टोली सिड्नी थन्डरले नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग अभ्यास खेल खेल्ने विषयमा छलफल अगाडि बढाएको छ।
सिड्नी थन्डरका जनरल म्यानेजर (जीएम) ट्रेन्ट कोपल्याण्डले नेपाली टोलीलाई अष्ट्रेलियामा आमन्त्रण गरी बीबीएलका अभ्यास खेलहरू खेलाउने विषयमा छलफल भइरहेको बताएका छन्।
कोपल्याण्डका अनुसार सिड्नी थन्डरले नेपाली राष्ट्रिय टोलीलाई अष्ट्रेलियामा ल्याएर अभ्यास खेलहरू खेलाउने विषयमा औपचारिक छलफल सुरु गरिसकेको छ।
उनले भनेका छन्, ‘हामीले नेपाली राष्ट्रिय टोलीसँग अष्ट्रेलियामा बीबीएलका अभ्यास खेलहरू खेल्ने विषयमा कुराकानी गरेका छौं।’
यदि यो छलफलले मूर्त रूप पाएमा नेपाली खेलाडीहरूले अष्ट्रेलियाको उत्कृष्ट क्रिकेट संरचनामा खेल्ने र व्यावसायिक अनुभव बटुल्ने ठूलो अवसर पाउनेछन्।
















