क्रिकेट एक्सिलेन्स सेन्टर बन्यो प्रधानमन्त्री कप काठमाडौं जिल्ला च्याम्पियन
थानकोट ।
महावीर एथ्लेटिक्स सेन्टरलाई १३८ रनले पराजित गर्दै क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) प्रधानमन्त्री कप काठमाडौं जिल्लाको च्याम्पियन बनेको छ ।
बुधबार (माघ २८) सम्पन्न फाइनलमा पहिले ब्याटिङ गरेको सीईसीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२९ रन बनाएको थियो । जवाफमा महावीरले २१.३ ओभर ब्याटिङ गर्दा सबै विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो ।
सीईसीका वीरेन्द्र धनदीले सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ खेले । बुद्धिमान बिष्ट ५९ बलमा ४४ रन बनाउँदै आउट भए ।
महावीरका सोनु देवकोटाले चार र रिजन थापाले दुई विकेट लिए ।
यसअघि, महावीरका प्रतिश जिसीले ४० बलमा सर्वाधिक ४७ रन जोडे । उत्तम थापामगरले ११ रन बनाए ।
सीईसीका निम्ति ‘प्लेयर अफ दी म्याच’ दयानन्द मण्डलले चार र मोनसान सिंहले तीन विकेट लिए ।
च्याम्पियन सीईसीका कप्तान रीत गौतम प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर १४ विकेट लिएका उपविजेता महावीरका सन्दीप पराजुली उत्कृष्ट बलर भए ।
प्रतियोगितामा तीन शतकसहित ४०७ रन बनाएका सीईसीका कप्तान रीत नै उत्कृष्ट ब्याटर भए । सीईसीका धीरज देउवा उदयीमान खेलाडी चुनिए ।
यही माघ १९ गते सुरु प्रतियोगितामा १८ टोली सहभागी थिए ।
















