शिवरात्रिमा आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने, चार हजार साधुसन्त उपस्थिति हुने

Thankot Times

थानकोट ।

महाशिवरात्रि पर्वलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम चरणमा पुगेको छ ।

पशुपति क्षेत्र विकास कोषले यस वर्षको पर्वलाई व्यवस्थित, सुरक्षित र श्रद्धालुमैत्री बनाउन बहुआयामिक योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।

कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीका अनुसार महाशिवरात्रिका दिन कम्तीमा आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ भने करिब चार हजार साधुसन्तहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

‘दर्शनार्थीको अत्यधिक घुइँचो व्यवस्थापन गर्न चार वटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाएका छौँ’, उनले भने, ‘सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको छ ।’

महाशिवरात्रिको दिन पशुपति क्षेत्र आसपास सवारी आवागमनमा विशेष व्यवस्थापन गरिनेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिनेछ । घुइँचो नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपतकालीन उद्धार तथा शंकास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको छ । पशुपति क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदलमार्गको व्यवस्था गरिनुका साथै आपतकालीन सवारीका लागि छुट्टै मार्ग निर्धारण गरिएको कोषले जनाएको छ ।

दर्शनलाई सहज बनाउन चार वटा लाइन व्यवस्थापनका साथै ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा विशिष्ट अतिथिका लागि छुट्टै व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक जोशीले जानकारी दिए । उनका अनुसार खानेपानी, शौचालय, विश्रामस्थल र प्राथमिक उपचार केन्द्रहरूको संख्या बढाइएको छ । स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग समन्वय गरिएको छ ।

कोषले स्वयंसेवक परिचालन गरी दर्शनार्थीलाई आवश्यक सूचना, सहजीकरण र मार्गनिर्देशन गर्ने व्यवस्था गरेको जनाएको छ । माइकिङ प्रणालीमार्फत भिडको अवस्था र सुरक्षासम्बन्धी सूचना निरन्तर प्रसारण गरिनेछ । महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ । मन्दिर परिसर, घाट क्षेत्र, सडक र सार्वजनिकस्थलमा रङरोगन तथा सौन्दर्यकरण गरिएको छ ।

बागमती नदी किनार क्षेत्रमा विशेष सरसफाइ अभियान सञ्चालन गरी वातावरण स्वच्छ राख्न ध्यान दिइएको छ । फोहाेर व्यवस्थापनका लागि थप डस्टबिन राखिएको छ भने दैनिक रूपमा फोहाेर संकलन र व्यवस्थापन गर्न विशेष टोली खटाइने जनाएको छ ।

महाशिवरात्रिका अवसरमा नेपाल तथा भारतलगायत विभिन्न देशबाट आउने साधुसन्तका लागि अस्थायी आवास, भोजन तथा सुरक्षा व्यवस्था मिलाइएको छ । उनीहरूलाई तोकिएको स्थानमा बसोबासको व्यवस्था गरी मन्दिर परिसरको अनुशासन कायम राखिनेछ ।

महाशिवरात्रिको राति विशेष पूजाआजा, आरती, भजन–कीर्तन तथा धार्मिक प्रवचन कार्यक्रम सञ्चालन गरिनेछ । कोषले श्रद्धालुहरूलाई धैर्यतापूर्वक लाइनमा बसी दर्शन गर्न, सरसफाइमा सहयोग गर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ । यस वर्षको महाशिवरात्रि पर्वलाई धार्मिक आस्था, सांस्कृतिक महत्व र व्यवस्थापनको दृष्टिले ऐतिहासिक बनाउने लक्ष्यसहित तयारीलाई अन्तिम रूप दिइएको कोषले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *