एसीसी महिला एसिया कप राइजिङ स्टार्स: नेपालको लगातार दोश्रो हार
थानकोट ।
एसीसी महिला एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ ।
आइतबार सम्पन्न खेलमा युएईले समूह ‘ए’ अन्तर्गतकाे खेलमा नेपाललाई १८ रनले निरास बनाएको हो ।
थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा युएईले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ५ विकेट गुमाउँदै १७१ रन बनायो ।
नेपालका लागि सम्झना खड्काले ३९ बलमा ११ चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान गरिन् । यसैगरी, कप्तान पूजा महतोले ३५ बलमा आठ चौका र १ छक्कासहित ५३ र सीता रानामगरले अविजित २२ रन बनाए ।
तेस्रो विकेटका लागि सम्झना र पूजाबीच १०४ रनको साझेदारी भएको थियो । युएईका लागि हिना होटचंदानी र सुरक्षा कोट्टेले २–२ तथा इन्धुजा नन्दाकुमारले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८९ रनको योगफल तयार पारेको थियो ।
युएईका लागि कप्तान इशा ओजाले ६३ बलमा १४ चौका र ९ छक्काको मद्दतले १२५ रनको योगदान गरिन् । यसैगरी, हिना होटचंदानीले ३८ बलमा ७ चौकासहित अविजित ४५ रन बनाइन् ।
चौथो विकेटका लागि ओजा र होटचंदानीले १६७ रनको साझेदारी गरेका थिए । नेपालका लागि मनिषा उपाध्यायले २ र कविता कुँवरले १ विकेट लिए ।
लगातार दोस्रो जितसँगै २ खेलमा ४ अंक जोडेको सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।
दुवै खेलमा पराजित नेपाल भने समूह चरणबाटै बाहिरिएको छ । यसअघि युएईले भारत ‘ए’लाई पराजित गरेको थियो ।
नेपालले पाकिस्तान ‘ए’ सँग हार व्यहोरेको थियो ।

















