आईसीसी पुरुष टी-२० विश्वकपः नेपाल र न्युजिल्याण्ड विजयी, वर्षा बाधक बन्दा जिम्बावेलाई ‘चिठ्ठा’

Thankot Times

थानकोट ।

न्युजिल्यान्डले आईसीसी पुरुष टी– २० विश्वकपको सुपर– ८ मा स्थान पक्का गरेको छ ।

न्युजिल्यान्डले मंगलबार सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा क्यानडाविरुद्ध ८ विकेटको सहज जित निकाल्यो ।

चेन्नईस्थित एक चिदम्बरम रंगशालामा क्यानडाले प्रस्तुत गरेको १७४ रनको लक्ष्य न्युजिल्यान्डले १५.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।

जितसँगै ३ खेलमा ६ अंक जोडेको न्युजिल्यान्ड दोस्रो स्थानमा छ । तीनै खेलमा पराजित क्यानडा अकंविहीन छ ।

नेपालले आईसीसी पुरुष टी– २० विश्वकपमा सान्त्वना जित दर्ता गरेको छ । नेपालले मंगलबार सम्पन्न समूह ‘सी’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध ७ विकेटको जित निकाल्यो ।

मुम्बईस्थित वनखेडे रंगशालामा स्कटल्यान्डले प्रस्तुत गरेको १७१ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ३ विकेट गुमाउँदै पूरा गर्‍याे।

वर्षाले खेल नै नभएपछि टी–२० विश्वकपमा जिम्बाब्वे भाग्यमानी बन्दा अस्ट्रेलिया विश्वकपबाट बाहिरिएको छ ।

जिम्बाब्वे र आयरल्यान्डबीचको खेल वर्षाले रोकिएपछि दुवैले एक–एक अंक बाँडेका हुन् । जसले समूह ‘बी’मा रहेको अस्ट्रेलिया एक खेल अगावै सुपर एटको समीकरणबाट बाहिरिएको हो ।

प्रतियोगिता अन्तर्गत आज बुधबार दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्सबीच बिहान ११:१५ बजे खेल हुने तालिका रहेको छ ।

दोश्रो खेलमा दिउँसो ३:१५ बजे नामिबिया र पाकिस्तानबीच खेल हुनेछ । दिनको अन्तिम खेलमा साँझ ७:१५ बजे भारतले नेदरल्याण्ड्सको चुनाैती सामना गर्नेछ ।

तस्बिरः गेटी इमेजेज्


Leave a Reply

Your email address will not be published. Required fields are marked *