चन्द्रागिरिमा साली बलात्कार गरी गर्भवती बनाएका भिनाजु म्यादी प्रहरी बन्न जाँदा पक्राउ

Thankot Times

थानकोट ।

आफ्नै सालीलाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेका एक व्यक्ति झन्डै एक वर्षपछि म्यादी प्रहरीमा भर्ना हुन जाँदा पक्राउ परेका छन्।

भोजपुर घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका बस्दै आएका महेश राईलाई प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा बलात्कार सम्बन्धी कसुरमा अभियोगपत्र दायर गरेको छ।

आफ्नै संरक्षणमा रहेकी १९ वर्षीया सालीलाई डरत्रास देखाएर बलात्कार गरेको र पछि सोही कारणले बच्चा जन्मिएको भन्दै उनीविरुद्ध ७ देखि १० वर्षसम्मको कैद सजाय माग गरिएको छ।

भएको के थियो?
अभियोगपत्रका अनुसार यो घटना करिब एक वर्षअघि २०८१ साल भदौ ७ गते रातिको हो। त्यतिबेला महेशकी श्रीमती (पीडितकी दिदी) कामको सिलसिलामा धरान गएकी थिइन्। डेरामा महेश, उनका ८ वर्षीय छोरा र १९ वर्षीया साली मात्र थिए।

राति करिब ११:३० बजेको समयमा छोरा निदाएपछि महेश साली सुतेको ओच्छ्यानमा गए। त्यहाँ उनले सालीलाई डरत्रास र धाकधम्की देखाउँदै बलात्कार गरेको अभियोग छ।

पीडितले दिएको जाहेरी दरखास्तमा भनिएको छ, ‘दिदी नभएको मौकामा निज प्रतिवादीको डेरा कोठामा रातिको समयमा मैले ‘यस्तो काम नगर्नुस्’ भन्दा उहाँले ‘मैले भनेको तैँले मान्नुपर्छ, भनी मलाई धाकधम्की देखाई प्रतिकार समेत गर्न नदिई मेरो सुरुवाल खोली मेरो इच्छाविपरीत करणी गर्नुभयो।’

त्यति मात्र होइन, घटनापछि महेशले यो कुरा कसैलाई नभन्नू, नत्र राम्रो हुँदैन भन्दै ज्यान मार्ने धम्की दिएकोसमेत जाहेरीमा उल्लेख छ।

‘यो कुरा कसैलाई भनिस् भने शहरमा बस्न दिन्नँ भनेर डरत्रास देखाए। सोही कारणले मेरो पेटमा गर्भसमेत बस्न गयो’, पीडितले आफ्नो बयानमा खुलाएकी छन्।

वैदेशिक रोजगारीको मेडिकल जाँच गर्दा खुल्यो रहस्य
पीडित युवती केही महिनापछि वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा थिइन्। विदेश जानका लागि अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ। सोही क्रममा उनी मेडिकल जाँच गर्न पुग्दा डाक्टरले उनको पेटमा २८ हप्ता (करिब ७ महिना)को गर्भ रहेको पुष्टि गरिदिए।

मेडिकल रिपोर्टमा गर्भ रहेको देखिएपछि परिवारमा ठूलो खैलाबैला मच्चियो। परिवारका अन्य सदस्य र दिदीहरूले ‘यो कसको गर्भ हो?’ भनेर सोधपुछ गर्दा बल्ल घटनाको रहस्य बाहिर आयो।

पीडितका दिदीहरूले प्रहरीसमक्ष दिएको बयानअनुसार, उनीहरूले बहिनीसँग सोधपुछ गर्दा बहिनीले रुँदै आफ्नै भिनाजुले दिदी धरान गएको मौकामा डरत्रास देखाएर बलात्कार गरेको र सोही कारण गर्भ रहेको बताएकी थिइन्। त्यसपछि परिवारको सल्लाहमा पीडितका तर्फबाट प्रहरी वृत्त, थानकोटमा जाहेरी दर्ता गरिएको थियो।

अभियोगपत्रका अनुसार, पछि ती पीडित युवतीले एक छोरीलाई जन्म दिइन् र हाल उनी ती बच्चासहित माइतीमै बस्दै आएकी छन्।

म्यादी प्रहरी बन्न जाँदा पक्राउ परे महेश
घटना सार्वजनिक भएर जाहेरी परेको सुइँको पाएपछि महेश राई फरार भए। काठमाडौंको डेरा छोडेर उनी बेपत्ता थिए। प्रहरीले उनको खोजी गरिरहेकै थियो।

तर, उनी २०८२ सालको आसन्न निर्वाचनमा खटिनका लागि निर्वाचन प्रहरी अर्थात म्यादी प्रहरीमा भर्ना हुन भन्दै आफ्नै गृहजिल्ला भोजपुरस्थित जिल्ला प्रहरी कार्यालय पुगे।

प्रहरीले आवेदन दिनेहरूको पृष्ठभूमि र रेकर्ड जाँच गर्दा उनी बलात्कार मुद्दाका फरार प्रतिवादी भएको पत्ता लाग्यो। त्यसपछि प्रहरीले उनलाई २०८२ माघ १२ गते त्यहीँबाट पक्राउ गरी काठमाडौं पठायो।

अभियुक्तको इन्कारी बयान: ‘सहमतिमै भएको थियो’
पक्राउ परेपछि अनुसन्धानका क्रममा प्रहरीलाई दिएको बयानमा भने महेशले आफूमाथिको जबर्जस्ती करणीको आरोपलाई ठाडै अस्वीकार गरेका छन्। उनले सालीसँग आफ्नो सहमतिमै पटक-पटक शारीरिक सम्पर्क भएको दाबी गर्दै बयान दिएका छन्।

महेशले बयानमा भनेका छन्, ‘मिति २०८१।०५।०५ गते मेरी श्रीमती कामले केही दिनका लागि धरान गएकी थिइन्। डेरा कोठामा म, मेरो छोरा र साली थियौँ। बेलुकाको खाना खाएपछि साली छुट्टै बिस्तरामा र म छोरासँग सुतेका थियौँ। राति ११ बजे छोरा निदाएपछि मैले सालीलाई शारीरिक सम्पर्क राख्ने प्रस्ताव गरेँ। निजले हुन्छ भनेपछि म उनको बिस्तरामा गएँ।’

उनले बयानमा थप दाबी गरेका छन्, ‘मैले निजसँगै सुतेर निजले लगाएको र आफ्नो कपडासमेत खोली सहमतिमै बिना कुनै अस्थायी साधन प्रयोग गरी पहिलो पटक शारीरिक सम्पर्क राखेको थिएँ। त्यसपछि पनि श्रीमती नभएको मौकामा हामीबीच सहमतिमै पटकपटक सम्पर्क हुँदै आएको थियो।’

महेशले सालीलाई सहमतिमै करणी गर्दा गर्भ बसेको र पछि सालीले आफूसँग सम्पर्कविहीन भएर झुटो उजुरी दिएको दाबी गरेका छन्।

तर, दिदीहरूको बयान र प्रमाणले अर्कै भन्छ
महेशले सहमतिको दाबी गरे पनि घटनाको अनुसन्धानका क्रममा बुझिएका पीडितका दिदीहरूले भने भिनाजुले डरत्रास देखाएरै जबर्जस्ती करणी गरेको बयान दिएका छन्।

पीडितकी साहिँली दिदीले भनेकी छन्, ‘हामी चार दिदीबहिनीमध्ये पीडित मेरी कान्छी बहिनी हो। महेश मेरी साहिँली बहिनीको श्रीमान् हुन्। हामी सँगै डेरामा बस्दथ्यौँ। पछि बहिनी विदेश जाने मेडिकल गर्दा पेटमा गर्भ देखियो। कसरी यस्तो भयो भनेर सोध्दा उसले भिनाजुले दिदी नभएको मौका पारी डरत्रास देखाएर करणी गरेको बताइन्।’

यसका साथै, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट प्राप्त पीडितको शारीरिक परीक्षण प्रतिवेदन र अन्य प्रमाणहरूले पनि जबर्जस्ती करणी भएको पुष्टि गर्ने आधार दिएको अभियोगपत्रमा उल्लेख भएको उकेरामा खबर छ ।

७ देखि १० वर्ष कैद सजाय र ३ लाख जरिवानाको मागदाबी
जिल्ला सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१) विपरीतको कसुर गरेको भन्दै महेश राईविरुद्ध अभियोगपत्र दायर गरेको हो।

पीडित १९ वर्षकी युवती भएकाले संहिताको दफा २१९ को उपदफा (३) को खण्ड (ङ) बमोजिम अभियुक्तलाई सात वर्षदेखि दश वर्षसम्मको कैद सजाय माग गरिएको छ।

यस्तै, मुलुकी अपराध संहिताको दफा २१९ (३क) को खण्ड (ग) बमोजिम अभियुक्तबाट तीन लाख रुपैयाँ जरिवाना गराउन र उक्त रकम पीडित राहत कोषमा जम्मा गराउन माग गरिएको छ। साथै, दफा २२८ बमोजिम अभियुक्तबाटै मनासिब क्षतिपूर्ति भराउनसमेत अदालतसमक्ष मागदाबी लिइएको छ।

जिल्ला न्यायाधीशको रोहवरमा अब यस मुद्दाको निरन्तर सुनुवाइ हुनेछ। अदालतले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने भन्ने विषयमा छिट्टै थुनछेक बहस गर्नेछ।

अदालतले आगामी फागुन ११ गतेका लागि पीडित र साक्षीको बकपत्रको मिति तोकिसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *