धादिङमा यात्रु बस दुर्घटना हुँदा ज्यान गुमाउने सबै १९ जनाकै सनाखत, अधिकांश मृतक युवा उमेरका

Thankot Times

थानकोट ।

त्रिशूली नदीमा सोमबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउने १९ जनाकै सनाखत भएको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको माछापुछ्रे टुर्स एण्ड ट्राभल्सको ग २ ख १४२१ नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटरोराङ गाउँपालिका–५ भैँसेगौडाबाट त्रिशूली नदी किनारमा खस्दा १९ जनाको मृत्यु भएको हो। दुर्घटनामा २५ जना घाइते भएका छन्।

मृतकमध्ये ४ महिला र १५ पुरुष रहेका छन् भने तीन जना विदेशी नागरिकसमेत रहेका छन्।

दुर्घटनामा ज्यान गुमाउनेमा त्रिपुरासुन्दरी गाउँपालिका–४ धादिङका ३० वर्षीय इन्जिनियर ठकुरी, पोखरा महानगरपालिका–३ कास्कीका ४० वर्षीय विवेक बास्तोला, वालिङ–१४ स्याङ्जाका ६३ वर्षीय चन्द्रबहादुर कुँवर, व्यास नगरपालिका–४ तनहुँका ४० वर्षीय ओमकुमार मल्ल, शुक्लागण्डकी–७ तनहुँकी ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौं–६ बौद्ध टुसालका ४२ वर्षीय लोप्साङ गोले लगायत रहेका छन्।

त्यसैगरी शुक्लागण्डकी–७ का ६३ वर्षीय रुद्रप्रसाद ढकाल, शुक्लागण्डकी–२ की २० वर्षीया अर्चना पौडेल, पोखरा–१४ की २१ वर्षीया अञ्जली क्षेत्री, माछापुछ्रे–३ का २१ वर्षीय रोहित नेपाली, पुतलीबजार–६ स्याङ्जाका ४५ वर्षीय धनश्याम सुवेदी, काठमाडौं–३२ बुद्धनगरकी ३३ वर्षीया अनिशा महर्जन, उर्लाबारी–१ मोरङका २७ वर्षीय हिरा चौधरी, पोखरा–१९ का २६ वर्षीय सुजित नेपाली रहेका छन्।

विदेशी मृतकहरूमा २४ वर्षीय ब्रिटिस नागरिक स्टेवार्ट डोमिनिक इथन, भारत उत्तर प्रदेशका ३२ वर्षीय मनिष सुक्ला र ४० वर्षीय चिनियाँ नागरिक झाङ चुनचुन रहेका छन्।

उद्धारमा कठिनाइ

दुर्घटनास्थल अप्ठ्यारो भूगोलमा रहेकाले उद्धार कार्यमा कठिनाइ भएको थियो। बस सडकबाट तल नदी किनारमा पुगेको र घटनास्थल पुग्न नदी पार गर्नुपर्ने अवस्था रहेको थियो।

उद्धारमा संलग्न राफ्टिङ गाइड अरुण थपलियाका अनुसार आवश्यक उपकरणको अभावले एक यात्रुलाई दुर्घटनाको पाँच घण्टापछि मात्रै जीवित उद्धार गर्न सकिएको थियो। हाइड्रोलिक कटर, तेज प्रकाश (फ्लडलाइट) र चेनपुली जस्ता उपकरण पर्याप्त नभएको उनले बताए।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख सुमित खड्का, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाट तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको टोली खटिएको थियो।

तस्बिरः विनोद श्रेष्ठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *