राहदानी विभागले भन्यो- २०८३ असोजभित्र राहदानी चाहिनेले अहिल्यै लिनू
थानकोट ।
राहदानी विभागले आगामी ६ महिना अर्थात् २०८३ असोजभित्र राहदानी आवश्यक पर्नेलाई अहिले नै राहदानी लिन आग्रह गरेको छ ।
विभागले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी जारी गर्न लागिएको जानकारी दिँदै बीचमा राहदानी वितरणमा प्रभाव पर्ने भन्दै यस्तो आग्रह गरेको हो ।
“राहदानी विभागले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न राहदानी प्रणाली, राहदानी पुस्तिकालगायतको आवश्यक तयारी गरिसकेको जानकारी गराउँछौँ,” विभागले बिहीबार जारी गरेको सूचनामा भनिएको छ ।
विभागले अबको एक/दुई महिनाभित्रमा हालको प्रणालीबाट नयाँ प्रणालीमा बदली हुने र उक्त अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म राहदानी वितरणमा प्रभाव पर्न सक्ने जनाएको छ । त्यस्तो अवस्थामा जिल्ला/इलाका प्रशासन र राहदानी विभाग तथा विदेशबाट प्रदान गरिने राहदानी सेवा बन्द हुन सक्ने विभागले जनाएको छ ।
जिल्ला/इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा १ देखि ३ हप्तासम्म बन्द हुन सक्ने विभागले जनाएको छ ।
“राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा करिब १ हप्तासम्म बन्द हुन सक्ने,” विभागले सूचनामा भनेको छ, “नयाँ प्रणाली कार्यान्वयन भएपश्चात् प्रणाली स्थिरीकरण हुन १ देखि ३ महिनासम्म लाग्ने भएकोले उक्त अन्तरिम अवधिमा जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने ।”
सोही कारण आगामी असोजसम्म राहदानी चाहिनेहरूले अहिले नै लिन विभागले आग्रह गरेको हो ।
“अतः उक्त अवस्थालाई मध्यनजर गर्दै आगामी ६ महिनासम्म (अर्थात् २०८३ असोज भित्रमा) राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अन्तरिम अवस्था सुरु हुनुअघि नै नियमानुसार सम्बन्धित जिल्ला/इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिनुहुन हार्दिक अनुरोध छ,” विभागले भनेको छ ।
नयाँ प्रणाली सुरु हुने मिति तथा उक्त अवधिमा गरिने व्यवस्थाका सम्बन्धमा अर्को सूचनामार्फत जानकारी गराइने विभागले जानकारी दिएको छ ।











