खाना पकाउने ग्यास लुकाउने डिलरलाई ५० हजार जरिवाना

Thankot Times

थानकोट ।

पोखरामा एलपी ग्यास लुकाइछिपाइ राखेको आरोपमा एक डिलरलाई जिल्ला प्रशासनले कारबाही गरको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले अनुगमनका क्रममा ग्यास लुकाइछिपाइ राखेर कृत्रिम अभाव खडा गरेको भन्दै पोखरा– ६ जरेवरमा रहेको भण्डारी ट्रेडर्सलाई ५० हजार जरिवाना लगाएको हो।

कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले उक्त डिलरले ४८ थान ग्यास सिलिण्डर (१४.२ केजी) अनुचित रूपमा लुकाइछिपाइ राखेर कृत्रिम अभाव खडा गरेको पाइएकाले जरिवाना लगाएको बताइन्।

शनिबार भएको अनुगमनका क्रममा उक्त डिलरले एउटा सिलिण्डरबाट अर्को सिलिण्डरमा ग्यास सार्ने उपकरण पनि फेला परेको सिडिओ शर्माले बताइन्।

‘हामीले आज बैठक बसेर अनुगमन गर्दा एउटा डिलरले ग्यासको कृत्रिम अभाव खडा गरेको पाइएको र ग्यास सार्ने उपकरण पनि भेटिएकाले ५० हजार जरिवाना तोकेका छौं,’ सिडिओ शर्माले भनिन्, ‘उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हामीले जरिवाना तोकेर कारबाही गरेका हौं।’

अनुगमन टोलीले पोखराका ग्यास डिलरहरूलाई ग्यासको कृत्रिम अभाव खडा नगर्न, ग्यासको परिणाम परिमार्जन नगर्न र उपभोक्ताको हित विरूद्धका गतिविधि नगर्न निर्देशनसमेत दिएको छ।

कास्कीका सहायक सिडिओ एवं निरीक्षण अधिकृत शिव लम्साल र अर्का सहायक सिडिओ चित्रांगत बराल नेतृत्वमा उपभोक्ता अधिकारकर्मी लगायतको टोलीले पोखराका ५ वटा ग्याँस डिलरहरूको अनुगमन गरेको थियो।

अनुगमनका क्रममा ३ वटा डिलरमा ग्यासको अनुचित भण्डारण नपाएको, एउटा डिलरमा ३२४ थान ग्यास सिलिण्डर झार्दै गरेको अवस्थामा फेला परेको निरीक्षण अधिकृत लम्सालले जानकारी दिए।

अनुगमनअघि सिडिओ शर्माको अध्यक्षतामा बसेको बैठकले ग्यास डिलरहरूले प्राप्त परिणाम र दैनिक वितरणको अभिलेख राख्ने, अनुचित भण्डारण नगर्ने, ग्यास बिक्रेताको प्रमाणपत्र लिएका व्यवसायीले मात्र बिक्री वितरण गर्ने, जेष्ठ नागरिक र विद्यार्थीलाई प्राथमिकता दिने लगायतको निर्णय गरेको छ।

बैठकले ग्यास बिक्री वितरणको अनुगमनलाई प्रभावकारी बनाउने समेत निर्णय गरेको सिडिओ शर्माले बताइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *