ट्रान्सजेन्डर महिलाको रूपमा पहिलोपटक सांसद बनेकी भूमिकालाई कलम उपहार
थानकोट ।
ब्लु डाइमन्ड सोसाइटीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको तर्फबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्यमा मनोनीत भएकी भूमिका श्रेष्ठलाई कलम उपहारसहित सम्मान गरेको छ ।
सोमबार सोसाइटीको कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा मनोनीत श्रेष्ठलाई सम्मान गरिएको हो ।
कार्यक्रममा सांसद श्रेष्ठले आदिवासी जनजाति, मुस्लिम, मधेशी, अपांगता भएका व्यक्ति तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आवाज सदनसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले समुदायका मुद्दा उठाउन सबैको साथ, सहयोग र सुझाव आवश्यक रहेको बताइन् ।
सोसाइटीकी पूर्वअध्यक्ष पिंकी गुरुङले लामो संघर्षपछि समुदायको प्रतिनिधित्व संसदसम्म पुगेको भन्दै यसले नयाँ आशा जगाएको बताइन् ।
त्यस्तै, सोसाइटीकी कार्यकारी निर्देशक मनिषा ढकालले सांसद श्रेष्ठलाई कलम उपहार प्रदान गर्दै विभेदकारी कानुनहरू खारेज गर्न पहल गर्न सुझाव दिइन् ।
भूमिका श्रेष्ठ ट्रान्सजेन्डर महिलाको रूपमा नेपालमै पहिलोपटक संसदमा प्रतिनिधित्व गर्न लागेकी हुन् ।
उनी चन्द्रागिरि नगरपालिका नैकाप निवासी हुन् ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी















