७.५ डिग्रीमा झर्‍यो काठमाडौंको न्यूनतम तापक्रम

Thankot Times

थानकोट ।

वर्षा र हिमपातसँगै देशभरको तापक्रम घटेको छ । काठमाडौंमा पनि दुई दिनयता तापक्रममा गिरावट आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार (चैत ३) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ । सोही समयमा सोमबार (चैत २) काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री थियो । आइतबार (चैत १) काठमाडौंको न्यूनतम तापक्रम १३.८ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

हिउँदयाम सकिएर प्रिमनसुन अवधि सुरु भएयता क्रमिक रूपमा बढ्न थालेको तापक्रम वर्षासँगै घटेको हो ।

गएको फागुन २४ गते काठमाडौंको न्यूनतम तापक्रम १७ डिग्री थियो । त्यस दिन यहाँको अधिकतम तापक्रम २१ डिग्री मापन गरिएको थियो । त्यसको अघिल्लो दिन अर्थात् फागुन २३ मा काठमाडौंको न्यूनतम तापक्रम १६.५ डिग्री थियो । त्यस दिन यहाँको अधिकतम तापक्रम २४ डिग्री थियो ।

गएको माघ २४ गते काठमाडौं न्यूनतम तापक्रम ६.९ डिग्री थियो । त्यस दिन यहाँको अधिकतम तापक्रम १९.१ डिग्री मापन गरिएको थियो । काठमाडौंमा यो वर्षको सबैभन्दा कम तापक्रम पुस ३० गते २.३ डिग्री मापन गरिएको महाशाखाको तथ्यांक छ ।

यस दिन (चैत ३) बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –०.८ डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम सोमबार १.८, आइतबार ५.९ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

मंगलबार ओखलढुंगाको न्यूनतम तापक्रम ५.३, डडेलधुराको ७.१, दिपायल र ताप्लेजुङको समान ८, पोखराको ९.६, धनकुटाको १०.२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ । पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा ‘मध्यम’सम्म पानी परेको महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *