चन्द्रागिरि क्षेत्रमा पनि लोकप्रिय सीताराम प्याकेटको दुध बिक्रीमा रोक, यस्तो छ कारण

Thankot Times

थानकोट ।

 खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सीताराम गोकुल मिल्क्सले उत्पादन गरेको प्रशोधित दूधमा चिल्लो पदार्थ (फ्याट) को मात्रा तोकिएको मापदण्डभन्दा कम पाइएपछि बिक्री वितरणमा रोक लगाएको छ ।

कीर्तिपुरमा रहेको उक्त डेरी उद्योगले प्रशोधित दूधमा हुनुपर्ने अनिवार्य गुणस्तर कायम नगरेको पाइएकाले कारबाही गरिएको विभागले जानकारी दिएको हो ।

विभागले गरेको नियमित अनुगमनका क्रममा उक्त डेरीले उत्पादन गरेको प्रशोधित दूधको नमूना परीक्षण गर्दा चिल्लो पदार्थको मात्रा १.४ प्रतिशत मात्रै पाइएको थियो । सरकारले तोकेको न्यूनतम अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित दूधमा चिल्लो पदार्थको मात्रा ३.० प्रतिशत हुनुपर्दछ ।

मापदण्डविपरीत कम गुणस्तरको दूध उत्पादन तथा बिक्री वितरण गरेको पाइएपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा (३३) बमोजिम बिक्रीका लागि कोल्ड स्टोरमा तयारी अवस्थामा राखिएको ४९९ क्रेट (प्रति क्रेट ५०० मिलिलिटरका २० पोका) दूधको बिक्री वितरणमा रोक लगाएको विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिइन् ।

थप अनुसन्धानका लागि दूधको नमुना संकलन गरी प्रयोगशालामा पठाइएको उनले बताइन् । यस डेरीले उत्पादन गरेको दूधको उत्पादन मिति २०८२–११–०२ र ब्याच नं. २८६६९ रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *