ढोकामा यात्रु राख्ने र शरीरको आधा भाग बाहिर निकाल्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीको एक्सन
थानकोट ।
यात्रुहरूको गुनासो बढ्दै गएपछि काठमाडौँ उपत्यकामा सञ्चालन हुने यात्रुवाहक सवारी साधनमाथि विशेष चेकजाँच गरिएको छ।
उपत्यका ट्राफिक प्रहरीले बस, माइक्रोबस लगायतका सवारी साधनमा अनुगमन गर्दा यात्रुहरूलाई जोखिमपूर्ण तरिकाले यात्रा गराउने, लापरबाहीपूर्वक सवारी सञ्चालन गर्ने तथा सवारी साधनको ढोकामा यात्रु राख्ने जस्ता कार्यहरू फेला पारेको जनाएको छ।
विशेषगरी माइक्रोबसहरूमा यात्रुहरूले शरीरको आधा भाग बाहिर निकालेर यात्रा गर्ने जोखिमपूर्ण अवस्था देखिएको थियो।
यस्ता गतिविधिमा संलग्न सवारी साधनहरूलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। साथै, सम्बन्धित चालक तथा परिचालकहरूलाई सचेत गराउने उद्देश्यले सचेतना कक्षा समेत सञ्चालन गरिएको छ।
प्रहरीले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै यस्ता अनुगमनलाई आगामी दिनमा अझ कडाइका साथ निरन्तरता दिने जनाएको छ।















