बधाई तथा शुभकामना व्यक्त गर्न र अनावश्यक भेटघाट गर्दै काममा बाधा नपार्न रास्वपाले गर्‍यो आग्रह

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्ने, अनावश्यक भेटघाटसहित खादा तथा फूलमाला लगाउने, फोटो खिच्नेजस्ता कार्य नगर्न अनुरोध गरेको छ ।

उक्त पार्टीको केन्द्रीय अनुशासन आयोगले त्यस्ता कार्यहरू पार्टी अनुशासनविपरीत र भड्किलो देखिएकाले ध्यानाकर्षण भएको जनाउँदै सम्पूर्ण पार्टीका पदाधिकारी तथा पार्टीपंक्तिबाहिरका शुभेच्छुकहरूलाई अनावश्यक रूपमा मन्त्रालयमा भेटघाट, जमघट तथा भिडभाड नगरिदिन अनुरोध गरेको छ ।

केन्द्रीय अनुशासन आयोगकी कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकार गठनपश्चात् पार्टीका नेतागण, सदस्य तथा शुभेच्छुकहरूले मन्त्रालयमा उपस्थित भई नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्ने, अनावश्यक भेटघाटसहित खादा तथा फूलमाला लगाउने, फोटो खिच्नेजस्ता अनावश्यक कार्य भए गरेकोमा यस्ता कार्यहरू पार्टी अनुशासनविपरीत र भड्किलो देखिएकाले केन्द्रीय अनुशासन आयोगको ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘अतः नागरिक सेवा प्रवाहको परिणाममूखी कार्यसम्पादन गर्नुपर्ने आजको बहुमूल्य समय रहेको यथार्थलाई मध्यनजर गर्दै प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिन अनावश्यक रूपमा मन्त्रालयमा भेटघाट, जमघट तथा भिडभाड गर्नेजस्ता कार्यहरूले सरकारको कार्यसम्पादनमा विलम्ब गराउने, कार्य सम्पादनको प्राथमिकता र गुणस्तरलाई असर पुर्‍याउने तथा सरकारको समग्र कार्य प्रणालीमा नै गम्भीर असर पुर्‍याई नागरिकको अपेक्षाअनुसारका द्रुत सेवा प्रवाहमा कठिनाइ उत्पन्न हुन सक्ने देखिएकाले तत्‌सम्बन्धी कार्य नगर्न नगराउनु हुन सम्पूर्ण पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई सख्त निर्देशन जारी गरिएको छ ।’

साथै पार्टीपंक्ति बाहिरका शुभेच्छुकहरुलाई समेत सो कार्यहरू सकेसम्म नगरिदिन केन्द्रीय अनुशासन आयोगले अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *