रातो मच्छिन्द्रनाथको रथयात्राको भिडियो श्यर गर्दै प्रधानमन्त्रीले लेखे वर्षा समयमै होस्, अन्नबाली समृद्ध होस
थानकोट ।
प्रधानमन्त्री बालेन शाहले उपत्यकाको ऐतिहासिक तथा सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको अवसरमा देशमा समयमै वर्षा, कृषिमा समृद्धि र विश्व शान्तिको कामना गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत जात्राको शुभकामना दिँदै प्रधानमन्त्री शाहले सहकालका देवता रातो मच्छिन्द्रनाथसँग यस्तो प्रार्थना गरेका हुन्।
‘यस पावन अवसरमा सबैले एउटै कामना गरौं, वर्षा समयमै होस्, अन्नबाली समृद्ध होस्, संसारमा शान्ति र कल्याण फैलियोस्,’ प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्।
पाटनको पुल्चोकबाट रथारोहण गरी आरम्भ हुने यो जात्रा करिब दुई महिनासम्म चल्नेछ। प्रधानमन्त्रीले शाहले यसलाई केवल परम्परा मात्र नभई श्रद्धा, सहिष्णुता र सांस्कृतिक एकताको अद्भुत सन्देश बोकेको पर्वका रूपमा अर्थ्याएका छन्।
साथै, उनले जात्राको १६ सय वर्ष पुरानो ऐतिहासिक पृष्ठभूमिसमेत नागरिकलाई स्मरण गराए।
लिच्छवी राजा नरेन्द्रदेवको पालामा काठमाडौं उपत्यकामा पानी नपरेर चरम सुक्खा लागेपछि भारतको आसामबाट मच्छिन्द्रनाथलाई ल्याएर प्राण प्रतिष्ठा गराइएको इतिहास रहेको उनले उल्लेख गरेका छन्।
सोही समयदेखि निरन्तर चलिरहेको यस परम्पराले वर्षा, सहकाल र समृद्धिको कामना गर्दै आएको प्रधानमन्त्री शाहको भनाइ छ।













