नेकपा एमाले सचिवालय बैठक आज बस्दै
थानकोट ।
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजे बस्न लागेको हो ।
यसअघि जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो ।
११ औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने छ । केन्द्रीय सदस्यहरूलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी एमालेको रहेको छ ।
हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरूमा जिम्मेवारी बाँडफाँटको तयारी छ ।
बैठकले गत फागुनमा भएको निर्वाचनको समीक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने जनाइएको छ ।
आजको बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्वासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने जनाइएको छ ।










