देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का

Thankot Times

थानकोट ।

यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारीसाधनको नयाँ दर्ता अर्को सूचना जारी नभएसम्म रोक्का गर्न निर्देशन दिएको छ । विभागले बिहीबार सातै प्रदेश सरकार तथा सबै स्थानीय तहलाई पत्राचार गर्दै यस्तो निर्णय कार्यान्वयन गर्न आग्रह गरेको हो ।

विभागका अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण, सवारी चाप तथा ट्राफिक जाम बढ्दै गएको छ । यसका कारण सर्वसाधारणको आवागमनमा कठिनाइ उत्पन्न भएको र इन्धनको मूल्यवृद्धिले सार्वजनिक यातायात क्षेत्रमा थप असहजता सिर्जना गरेको उल्लेख गरिएको छ ।

‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’को दफा २४ उपदफा (३) अनुसार वातावरण प्रदूषण, सवारी चाप, सडकको अवस्था वा सार्वजनिक हितसँग सम्बन्धित अन्य कारणले आवश्यक देखिएमा सवारी दर्ता रोक्का गर्न सकिने कानुनी व्यवस्था रहेको विभागले जनाएको छ ।

उक्त निर्णयअनुसार अब सार्वजनिक सवारीसाधनका साथै इलेक्ट्रिक सार्वजनिक सवारीसाधनको समेत नयाँ दर्ता अस्थायी रूपमा बन्द गरिने भएको छ । विभागले प्रदेशअन्तर्गतका यातायात कार्यालय तथा स्थानीय तहलाई नयाँ दर्ता प्रक्रिया रोक्न निर्देशन दिएको छ ।

निर्देशक मणिराम भुसालद्वारा हस्ताक्षरित पत्रमा सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले यस्तो कदम चालिएको उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ