रास्वपा काठमाडाैं जिल्ला सभापतिमा राजा शाक्य, सचिवमा सन्तमान महर्जन निर्वाचित
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडाैं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न सो दलको पहिलो जिल्ला अधिवेशनले शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
सभापतिमा पदमा २ जनाको उमेदवारी परेकोमा शाक्यले २५१ मत पाउँदा प्रत्यासी सुरेश सापकोटाले १८२ मत पाए ।
जम्मा ५२८ जना मतदाता रहेको रास्वपा काठमाडाैं जिल्ला अधिवेशनमा ४३८ मत खसेको रास्वपाले जनाएको छ ।
उपसभापतिमा २१६ मत पाएका रविन्द्र गाैतम विजयी भए, यस पदका अर्का उमेदवार स्वयम्बर खड्काले २११ मत पाए ।
सचिवमा सन्तमान महर्जन २९७ मतका साथ निर्वाचित हुँदा प्रत्यासी रमेश न्याैपानेले १३१ मत पाए ।
सहसचिवमा साैरव बस्नेत निर्वाचित भए । उनले ३२५ मत पाए । प्रत्यासी गणेश थापाले ९५ मत प्राप्त गरे ।
सदस्यहरूमा क्रमश सम्शेर बहादुर श्रेष्ठ, केदार प्रसाद रैला, बलराम कार्की निर्वाचित भएका छन् ।
मुना थापा कार्की र सरिता लामिछाने रास्वपा काठमाडाैं जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौँ क्षेत्र नं ४ को क्षेत्रीय प्रतिनिधि छनोटका लागि पनि निर्वाचन भएको छ । काठमाडौँका अन्य ९ वटा क्षेत्रका क्षेत्रीय प्रतिनिधि भने सर्वसम्मतरूपमा चयन भएका छन् ।
रास्वपाले शनिबार ३८ जिल्लामा अधिवेशन गरेको छ । बाँकी २७ जिल्लामा आइतबार अधिवेशन हुनेछ ।
राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा निर्वाचन सम्पन्न गर्ने रास्वपाको तयारी छ ।
यही जेठ २६ गतेदेखि प्रदेश अधिवेशन हुँदैछन् ।
प्रदेश अधिवेशनहरू सञ्चालन गर्न सातवटै प्रदेशमा पाँच सदस्यीय प्रदेश निर्वाचन समिति र जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न गर्न प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगले जनाएको छ ।













