सुधन गुरुङले भने- दुई महिना तस्बिर खिच्न नआउनू

Thankot Times

थानकोट ।

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।

रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सांसद गुरुङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताए ।

अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु ।’

छानबिन समितिसँगको त्यो ‘ठट्यौली’ प्रसंग

बयानका क्रममा घटेको एउटा रोचक प्रसंग कोट्याउँदै गुरुङले कार्यक्रममा ठट्यौली शैलीमा भने, ‘समितिले मलाई ‘यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो ?’ भनेर प्रश्न गर्‍यो । मैले पनि सहज रूपमा छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरिदिएँ ।’

उनले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको जानकारी दिँदै आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताए ।

‘पुनः गृहमन्त्री बने २ महिना तस्वीर खिच्न नआउनू’

आफू निर्दोष सावित हुने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावनाप्रति सङ्केत गर्दै गुरुङले एउटा फरक आग्रह समेत राखे ।

उनले भने, ‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्वीर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला ।’

उनले कामलाई प्राथमिकता दिन यस्तो आग्रह गरिएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ