मेयर आफैं फिल्डमा उत्रिएपछि अतिक्रमणविरुद्ध चन्द्रागिरि नगरपालिकामा डोजर अभियान सुरु

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रभित्र विभिन्न बाहानामा अतिक्रमणमा परेका सार्वजनिक जग्गा खाली गराउन सुरु गरेको छ ।

शुक्रबार नगरप्रमुख घनश्याम गिरी आफैं फिल्डमा उत्रिएपछि वडा नं.२ स्थित नागढुङ्गा क्षेत्रमा सडक अतिक्रमण गरेर निर्माण गरिएका टहरा तथा अस्थायी संरचनामाथि डोजर चलाइएको हो।

सो क्रममा मुख्य राजमार्ग तथा सडकपेटी क्षेत्र ओगटेर बनाइएका दर्जनौं टहरा हटाइएको चन्द्रागिरि नगरका प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए ।

गत बैशाख २३ गते नगरले सूचना जारी गर्दै विभिन्न बाहानामा अतिक्रमणमा परेका सार्वजनिक जग्गा खाली गराउन सूचित गरेको थियो । सो सूचनापछि केहि क्षेत्रमा संरचना हटेपनि अटेर गरिएका स्थानमा नगरले सुरक्षा निकायसँगको सहकार्यमा शुक्रबार डोजर चलाएको हो ।

नागढुङ्गा उपत्यकामा प्रवेश गर्ने र बाहिरिने सवारी साधनका लागि प्रमुख नाका मानिन्छ।

चन्द्रागिरि नगरपालिकाले सार्वजनिक सडक, फुटपाथ तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।

स्थानीयवासीले भने अतिक्रमण हटाउने चन्द्रागिरि नगरपालिकाको प्रयासलाई स्वागत गर्दै आगामी दिनमा पुनः सडक तथा फुटपाथ अतिक्रमण हुन नदिन नियमित अनुगमन आवश्यक रहेको बताएका ।

नगरक्षेत्रभित्र सार्वजनिकस्थल अतिक्रमण गरि बनाइएका संरचना हटाउने मामलामा कुनैपनि भेदभाव नगर्न र जनचासोको यस विषयमा निर्मम बन्न स्थानीयले नगरप्रमुखको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार (असार ५) चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा पर्ने नागढुङ्गा-झ्याप्लेखोला-सिस्नेखोलासम्मका करिब ३ दर्जन घर टहरा तथा सार्वजनिक जग्गामा बिना अनुमति राखिएका होड्रिङ बोर्डपनि हटाइएको हो ।

चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले सार्वजनिक जग्गा अतिक्रमण बिरुद्धको अभियान सुरु भएको भन्दै आगामी दिनमा थप प्रभावकारी रुपमा अघि बढने बताएका छन् ।

सार्वजनिक जग्गाको लगत संकलन भईरहेको बताउदै उनले पहिलो चरणमा सिस्नेखोला नागढुंङ्गा सडक किनारका अतिक्रमित जग्गा खाली गरिएको र अबका दिनमा नागढुङ्गा कलंकी सडक किनारका अतिक्रमीत जग्गा खाली गराईने बताए ।

संघीय सरकारको कार्यआदेश बमोजिम अतिक्रमित सार्वजनिक जग्गा खाली गराइएको उनको भनाइ छ ।

तस्बिरः चन्द्रागिरि नगरपालिकाको फेसबुक पेजबाट

सार्वजनिक जग्गा खाली गराउन चन्द्रागिरि नगरले जारी गर्यो १५ दिने सूचना, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया


Leave a Reply

Your email address will not be published. Required fields are marked *