इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी सुरज कार्की प्रदेशका सर्वोत्कृष्ट प्रहरी घोषित
थानकोट ।
इलाका प्रहरी कार्यालय गजुरी, धादिङमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्की बागमती प्रदेशभरिकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक कार्कीलाई जेठ महिनाका लागि सर्वोत्कृष्ट प्रदेश प्रहरीका रूपमा छनोट गरेको हो ।
‘महिनाको उत्कृष्ट प्रहरी छनाेट कार्यविधिअनुसार गरिएको मूल्यांकनमा कार्कीले लागुऔषध तथा हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादीलाई अफिम र भरुवा बन्दुकसहित पक्राउ गर्न सफल भएको, साथै लागुऔषध मुद्दामा कैद भुक्तान गरिसकेका व्यक्तिहरूलाई समेत अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको उल्लेख छ ।
त्यस्तै, भन्सार छलीका सामान तथा अवैध रूपमा ओसारपसार गरिएका चौपायासमेत बरामद गर्न सफल हुनुका साथै विभिन्न अपराधको सफल अनुसन्धान, विपद् उद्धार, अवैध नदिजन्य पदार्थ नियन्त्रण र सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतनामूलक गतिविधि सञ्चालन गरेको आधारमा उनलाई उत्कृष्ट घोषित गरिएको हो ।
कार्यालय स्तरोन्नति, पृथ्वी राजमार्गमा सवारी व्यवस्थापन तथा समाजमा शान्ति–सुरक्षा र सुशासन कायम गर्न उनले निर्वाह गरेको भूमिकालाई विशेष रूपमा मूल्यांकन गरिएको प्रदेश प्रहरीले जनाएको छ ।











