टेरामक्स प्रकरणमा पूर्वमन्त्री बस्नेतले पाए सफाइ

Thankot Times

थानकोट ।

विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ भने पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई आरोपबाट सफाइ दिएको छ।

न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा तथा तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गर्दै प्रत्येकलाई ६ महिनाको कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना सुनाएको हो।

अदालतले उक्त मुद्दामा बिगो कायम गर्न नमिल्ने निष्कर्ष निकाल्दै जरिवानासहितको सजाय निर्धारण गरेको जनाएको छ। साथै, दीगम्बर झा हाल नेपाल विद्युत प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा रहेकाले उनीविरुद्ध थप ६ महिनाको कैद सजायको रायसमेत तयार गरिएको निर्णयमा उल्लेख गरिएको छ।

यसै प्रकरणमा प्रतिवादी बनाइएका नेपाली काँग्रेसका नेता तथा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई भने आरोप पुष्टि हुन नसकेको निष्कर्षसहित विशेष अदालतले सफाइ दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *