‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु, ११५० वा ११५१ मा सम्पर्क गर्न अनुरोध
थानकोट ।
पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ)हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान सुरु गरेको छ ।
मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत् अवरुद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरिएको हो ।
ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण चौबिसै घण्टा तयारी अवस्थामा राखेको छ ।
मनसुनका कारण उत्पन्न हुनसक्ने सम्भावित समस्यालाई निरुपण गरी विद्युत् सेवा नियमित र भरपर्दो बनाउन मन्त्रालयले थप सक्रियता देखाएको छ ।
विद्युत् आपूर्तिसम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निःशुल्क हटलाइन नम्बर ११५० वा ११५१ मा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।









