कुकुर पाल्न वडाको अनुमति अनिवार्य
थानकोट ।
झापाको शिवसताक्षी नगरपालिका-८ ले घरपालुवा कुकुर व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गरेको छ ।
अब उक्त वडाभित्र कुकुर पाल्नुअघि सम्बन्धित धनीले वडा कार्यालयबाट अनिवार्य अनुमति लिनुपर्ने भएको छ ।
सामुदायिक कुकुरको टोकाइका घटना बढ्दै गएपछि नागरिकको सुरक्षालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको वडाध्यक्ष सन्तकुमार फेवदिनले जानकारी दिए । कुकुरको आक्रमणका कारण स्थानीय बासिन्दा घाइते हुने तथा आवतजावतमा समेत समस्या देखिन थालेपछि नियन्त्रण र व्यवस्थापनका लागि दर्ता प्रणाली सुरु गरिएको उनको भनाइ छ ।
वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कुकुर पाल्ने सबै व्यक्तिलाई अनिवार्य रूपमा दर्ता प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । दर्ताका क्रममा कुकुर धनीको व्यक्तिगत विवरणसहित कुकुरको जात, उमेर, लिंग, रङ, उचाइ, लम्बाइ र तौललगायतका विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको प्रमाण, कुकुर तथा धनीको रंगीन तस्बिर र वडा कार्यालयले तोकेको जिम्मेवारीसम्बन्धी सम्झौता पत्रसमेत बुझाउनुपर्नेछ । वडा कार्यालयले तयार गरेको कार्यविधि स्वीकार नगर्ने व्यक्तिले वडाभित्र कुकुर पाल्न नपाउने व्यवस्था गरिएको वडाध्यक्ष फेवदिनले बताए ।
वडा कार्यालयका अनुसार हालसम्म १२ जना कुकुर धनीले आफ्ना कुकुर दर्ता गराइसकेका छन् ।
यसअघि शिवसताक्षी-८ मा सामुदायिक कुकुरको टोकाइबाट नौ जना स्थानीय घाइते भएका थिए । उनीहरूलाई नगरपालिकाले रेबिजविरुद्धको खोप उपलब्ध गराउनुका साथै उपचार सहयोग स्वरूप प्रतिव्यक्ति १० हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको थियो ।
वडा कार्यालयले कुकुर व्यवस्थापन, जनस्वास्थ्य सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि दर्ता प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जनाएको छ ।









