राइड सेयरिङ चालकले अब प्यान नम्बर अनिवार्य लिनुपर्ने
थानकोट ।
आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामार्फत आम्दानी गर्ने चालकहरूका लागि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ।
विभागले सार्वजनिक गरेको सूचनाअनुसार राइड सेयरिङ अपरेटरको डिजिटल प्लेटफर्ममा आबद्ध भई सेवा प्रदान गर्ने सबै चालकले कारोबार सञ्चालन गर्नुअघि अनिवार्य रूपमा प्यान नम्बर लिनुपर्ने व्यवस्था लागू गरिएको हो।

आयकर ऐन, २०५८ को दफा ७८ तथा आयकर नियमावली, २०५९ को नियम २३ मा निर्धारणयोग्य आय गर्ने व्यक्ति, करसम्बन्धी प्रयोजनका लागि विभागले तोकेका व्यक्ति वा भुक्तानीमा कर कट्टी हुने अवस्थाका व्यक्तिले आय आर्जन वा कर कट्टी प्रक्रिया अघि नै स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था रहेको विभागले जनाएको छ।
उक्त कानुनी प्रावधानअनुसार राइड सेयरिङ प्लेटफर्ममार्फत सेवा दिँदै आएका चालकहरूलाई पनि कर प्रशासनको दायरामा समेटिएको हो।
विभागले कर प्रणालीलाई व्यवस्थित बनाउन तथा सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउने उद्देश्यले उक्त सूचना जारी गरेको जनाएको छ। अब राइड सेयरिङ सेवामा आबद्ध चालकहरूले प्यान नम्बर लिएर मात्र नियमित कारोबार गर्न सक्नेछन्।









