नेकपा एमाले आज बागमती प्रदेश सरकारबाट बाहिरिँदै

Thankot Times

थानकोट ।

वाग्मती प्रदेश सरकारबाट बाहिरिने नेकपा (एमाले)ले तयारी गरेको छ ।

वाग्मतीमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ । बिहीबार (असार ३२) बस्ने प्रदेश मन्त्रिपरिषद् बैठकमा एमालेतर्फका ६ मन्त्रीले सामूहिक राजीनामा बुझाउने तयारी गरेका हुन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा एमाले सत्तासाझेदारका रूपमा सहभागी छ ।

केन्द्रमा बुधबार (असार ३०) बसेको कांग्रेस पदाधिकारी बैठकबाट सबै प्रदेशमा एमालेसँगको सत्तासहकार्य अन्त्य गर्ने निर्णय गरिएको थियो । योसँगै वाग्मतीमा पनि नयाँ सत्तासमीकरण बन्ने प्रक्रिया तीव्र बनेको हो ।

बिहीबार अपराह्न ४ बजे वाग्मती मन्त्रिपरिषद्को बैठक बस्दै छ । सोही बैठकमा एमालेतर्फका सबै मन्त्रीले राजीनामा बुझाउने तयारी गरिएको प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए ।

“अन्य प्रदेशको नेतृत्व र माथिल्लो तहको नेतृत्वसँग छलफल भइरहेको छ । कांग्रेससँगको सहकार्यमा एमाले अघि बढ्दैन,” उनले भने, “आज बस्ने क्याबिनेटमार्फत एमालेका सबै ६ मन्त्रीले राजीनामा बुझाउने तयारी गरेका छन् । माथिल्लो तहको निर्णयानुसार अघि बढ्नुको विकल्प छैन ।”

एमाले सरकारबाट बाहिरिने निश्चित भएसँगै अब वाग्मतीमा कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच नयाँ सत्तासाझेदारीको सम्भावना बलियो बनेको छ ।

गत वर्ष साउन २० गते गठित वाग्मती सरकारमा एमालेबाट भरत केसी (वन तथा वातावरण), डा. दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार विकास), जयराम थापा (श्रम, रोजगार तथा यातायात), मधुसूदन पौडेल (कृषि तथा पशुपन्छी विकास), किरण थापा (स्वास्थ्य) र विन्दु श्रेष्ठ (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन)मन्त्री छन् ।

यो वर्ष वैशाख २२ गते वाग्मतीमा मन्त्रालयको संख्या १४ बाट घटाएर आठमा सीमित गर्ने निर्णय गरिएको थियो ।

उक्त निर्णय साउन १ गतेदेखि कार्यान्वयन गर्ने तयारी भइरहेका बेला सत्तासमीकरण परिवर्तन हुन लागेको हो ।

हाल १०४ सदस्यीय वाग्मती प्रदेशसभामा सरकार गठनका निम्ति ५३ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल हो । त्यसपछि क्रमशः नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ती र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *