नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन
थानकोट।
नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ ।
उपचारमै रहेका पाण्डेलाई शुक्रबार बेलुका घर पठाइएको थियो । घरमै उनको निधन भएको हो ।
त्यसअघि पाटन अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यसपछि शुक्रबार नै उनलाई चिकित्सकको सुझावअनुसार घरमै लगिएको थियो ।
पत्रकार नारायण वाग्लेले सामाजिक सञ्जालमार्फत् पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले भनेका छन्–नागरिक स्वतन्त्रता, समानता, हक र चेतनाका पक्षमा सधैं खरो उभिने, लोकतन्त्रका लागि जहिल्यै संघर्षको समन्वय गर्दै नयाँ पुस्तालाई नित्य हौस्याइरहने हाम्रा अगुवा देवेन्द्रराज पाण्डे। अलविदा!”
घरमै लगिएपछि बेलुका पौने ८ बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दियो । कवि अर्जुन पराजुलीले सामाजिक सञ्जालमार्फत् भनेका छन्–आदरणीय दाइ–डा. देवेन्द्रराज पाण्डेले हामीलाई छोडेर जानुभयो ।”
पाण्डे २०३६ सालको जनमत संग्रहका बेला शासकहरुले जथाभावी खर्च गर्न खोजेपछि अर्थसचिवबाट राजीनामा दिएका थिए । अध्ययन अनुसन्धानमा सक्रिय पाण्डे २०४६ सालको जनआन्दोलनका बेला नागरिक समाजको तर्फबाट अगुवाइ गरेका थिए ।
२०४७ सालमा बनेको अन्तरिम सरकारमा उनी अर्थमन्त्री भएका थिए । त्यसपछि २०६२–६३ मा भएको लोकतान्त्रिक आन्दोलनमा पनि अगुवाइ भूमिकामा थिए ।











