सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय

Thankot Times

थानकोट ।

सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गर्ने भएको छ ।

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार २ दिन बिदा दिन थालेपछि साविकमा रहेका अरू सार्वजनिक बिदाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्यसचिव कार्कीले हस्ताक्षर गर्नुभएको २२ बुँदे निर्णयमा उल्लेख छ ।

बैठकले धेरै पुराना, असान्दर्भिक र कार्यसम्पादनमा बाधा पुर्‍याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले दरबन्दी कटौतीपछि बढी हुने कर्मचारीहरूलाई आवश्यकताअनुसार सङ्घीय, प्रदेश र पालिकामा पठाउने निर्णय पनि गरेको छ ।

नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीहरूको मिलान गर्ने र धेरै हुने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो ।

सचिवहरूले मालपोत र नापीका सेवाहरूलाई पालिकामा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने र त्यसका लागि सङ्घीय मामिला मन्त्रालयले पालिकाको संस्थागत र प्राविधिक क्षमता बढाउने निर्णय पनि गरेका छन् ।

जनसम्पर्क धेरै हुने कार्यालयहरूको सेवालाई सहज, सरल र बिचौलियामुक्त बनाउने प्रतिबद्धतासहित कर्मचारीहरूले निवेदन र उजुरी लेख्न नजान्ने सेवाग्राहीलाई सघाउनुपर्ने निर्णय पनि सचिवको बैठकले गरेको छ ।

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएयता पहिलो पटक सचिवहरूको बैठक बसेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *