जग्गाको नयाँ सरकारी मूल्याङ्कनः चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा जग्गाको भाउ बढ्यो
थानकोट ।
कलङ्की मालपोत कार्यालयको क्षेत्रात्रिकारमा पर्ने जग्गाको नयाँ सरकारी मूल्याङ्कन कायम भएको छ ।
भूमि प्रशासन कार्यालयले कलङ्की क्षेत्रभित्र आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरिएको नयाँ दररेटअनुसार मुख्य चक्रपथ क्षेत्रको जग्गाको मूल्य घटेको छ भने काठमाडौँ महानगरपालिकाका भित्री वडाहरू र चन्द्रागिरि नगरपालिकाका अधिकांश क्षेत्रमा जग्गाको सरकारी मूल्य वृद्धि भएको छ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको न्यूनतम मूल्य निर्धारण समितिको बैठकले साबिकको (आ.व. २०८२/०८३) दररेटमा परिमार्जन गर्दै नयाँ मूल्य तोकेको हो।
पारित लिखतमा थैली अङ्क कायम गर्ने प्रयोजनका लागि तोकिएको यो नयाँ मूल्यसूची साउन १ गतेदेखि लागू हुनेछ।
नयाँ दररेट अनुसार मुख्य चक्रपथ (बल्खु–वनस्थली खण्ड) सँग जोडिएका जग्गाको मूल्यमा प्रति आना साढे तीन लाख रुपैयाँले गिरावट आएको छ। तर, कालिमाटी, सोल्टीमोड, कलङ्की, सीतापाइला र चन्द्रागिरिका भित्री पक्की तथा कच्ची सडक जोडिएका जग्गाको मूल्य भने प्रति आना ५० हजारदेखि २ लाख रुपैयाँसम्मले बढाइएको छ ।
त्यसै गरी, कीर्तिपुर र दक्षिणकाली नगरपालिकाका अधिकांश क्षेत्रका जग्गा र बाटो नभएका जग्गाहरूको मूल्याङ्कन भने अघिल्लै वर्षको दररेटलाई निरन्तरता दिइएको छ।
विभिन्न क्षेत्रका जग्गाको न्यूनतम मूल्याङ्कन (प्रति आना) र परिवर्तनको अवस्था झल्काउने एकीकृत सूची हेर्नुहोस्











