चेकपोष्टस्थित हिमाल इन्टरप्राइजेजसहित १६ पम्पले बेचे १ वर्षमा एक अर्बभन्दा बढीको इन्धन

Thankot Times

थानकोट ।

गत आर्थिक वर्ष २०८२/८३ मा देशभर सबैभन्दा बढी इन्धन कारोबार गर्ने पेट्रोलपम्पको सूचीमा धादिङको निलकण्ठ नगरपालिकास्थित भैरवी इन्टरप्राइजेज पहिलो स्थानमा रहेको छ।

सो पेट्रोल पम्पले गत आवमा एक अर्ब ९९ करोड ११ लाख ६० हजार २ सय ६५ रुपैयाँको पेट्रोल र डिजेल खरिद गरेर लगेको आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगञ्जले जनाएको छ।

निगमबाट खरिद गरेर लगेको इन्धनमा नाफा र ढुवानी लागतसमेत जोडेर बिक्री गर्ने भएकाले पम्पहरुको कूल कारोबार झन् बढी हुन आउँछ।

भैरवी इन्टरप्राइजेज लगातार तेस्रो पटक सर्वाधिक तेल बिक्री गर्ने पम्प बनेको हो। सूचीको दोस्रो स्थानमा काठमाडौंको सामाखुसीस्थित प्रहरी कल्याणकोष पेट्रोलपम्प रहेको छ। सो पम्पले गत आवमा एक अर्ब ८५ करोड ५३ लाख १ हजार १ सय ४७ रुपैयाँको पेट्रोल–डिजेल खरिद गरेर लगेको निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटले जनाएको छ।

सूचीको तेस्रो स्थानमा चितवनको नारायणगढ चोकमा संचालित कैलाश आयल डिस्ट्रिब्यूटर्स छ। सो पम्पले आयल निगमको अमलेखगञ्ज डिपोबाट एक अर्ब ६७ करोड ९१ लाख ७ हजार ८ सय ९ रुपैयाँको तेल खरिद गरेर लगेको थियो। त्यस्तै, चौथो नम्बरमा नेपाल आर्मीद्धारा काठमाडौंको भद्रकालीमा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशन रहको छ। रिपुमर्दिनीले गत आवमा एक अर्ब ६७ करोड ३६ लाख ८१ हजार ६ सय ७८ रुपैयाँको पेट्रोल–डिजेल खरिद गरेको निगमको थानकोट डिपोले जनाएको छ।

पाँचौ स्थानमा रहेको ललितपुरको पुल्चोकस्थित साझा सेवा सहकारी पेट्रोलपम्पले निगमको थानकोट डिपोबाट एक अर्ब ४१ करोड ५० लाख २१ हजार ७२९ रुपैयाँको तेल खरिद गरेको थियो। सूचीको छैटौं नम्बरमा बुटवलको मिलन ब्रदर्स सप्लायर्स रहेको छ। सो पम्पले एक अर्ब ३४ करोड ९३ लाख ४९ हजार ९ सय २७ रुपैयाँको तेल खरिद गरेर लगेको निगमको लुम्बिनी प्रादेशिक कार्यालय, रुपन्देही (भलवारी)ले जनाएको अजित अधिकारीले नयाँ पत्रिकामा खबर लेखेका छन् । सातौंदेखी १०औं नम्बरमा भने काठमाडौं उपत्यकाभित्रका पम्प छन्। सातौं स्थानमा रहेको नक्सालस्थित प्रहरी कल्याण कोष पम्पले एक अर्ब ३३ करोड ८९ लाख २६ हजार २७७ रुपैयाँ, आठौं स्थानमा रहेको भक्तपुर फ्युल सेन्टरले एक अर्ब १८ करोड ७६ लाख ७० हजार ६०३, नवौं स्थानमा रहेको बालाजुस्थित सत्यनारायण प्रालिले १ अर्ब १७ करोड ९४ लाख ९३ हजार १५६ र १०औं नम्बरको बागमती आयल सप्लायर्सले १ अर्ब १७ करोड ७ लाख ३४ हजार ५७ रुपैयाँको तेल खरिद गरेर लगेको निगमको थानकोट डिपोले जनाएको छ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अनुसार देशभर एक हजार पाँच सय ३० पेट्रोलपम्प संचालनमा छन्।

यीमध्ये बार्षिक एक अर्बभन्दा बढी रकमको कारोबार गर्ने पेट्रालपम्पको संख्या १६ वटा छन्।

सर्वाधिक तेल बेच्ने १० पम्पको सूचीमा रहेकाबाहेक चितवनको बाइपास रोडमा संचालित साझा पेट्रोलपम्पले एक अर्ब १५ करोड, नुवाकोटको बट्टारमा संचालित भैरवी आयल स्टोरले एक अर्ब १४ करोड, बाराको पथलैयामा संचालित प्रहरी कल्याण केन्द्र पम्पले एक अर्ब ८ करोड, बाराको अमलेखगञ्जमा रहेको आकाश पेट्रोलियम प्रालिले एक अर्ब ८ करोड, सशस्त्र प्रहरीद्धारा ललितपुरको लगनखेलमा संचालित शक्तीदेवी पेट्रोल स्टेशनले एक अर्ब ७ करोड र थानकोट चेकपोष्टमा संचालित हिमाल इन्टरप्राइजेजले एक अर्ब चार करोडको पेट्रोल–डिजेल खरिद गरेर लगेको आयल निगमले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *