वर्ल्ड कल्चरल डान्स फेस्टिभल-२०२६: जेसिससहित चन्द्रागिरिका दुई विद्यालय शीर्ष ५ मा

Thankot Times

थानकोट ।

वर्ल्ड कल्चरल हेरिटेज काउन्सिल लन्डन र प्याब्सन काठमाडौंको सहकार्यमा आयोजित ‘वर्ल्ड कल्चरल डान्स फेस्टिभल–२०२६’ सम्पन्न भएको छ।

प्याब्सन काठमाडौं जिल्लाको सहकार्य तथा नव सुन्ताखान एकेडेमीको आयोजनामा सम्पन्न प्रतियोगितामा काठमाडौंका २४ विद्यालयले नेपाली मौलिक लोकसंस्कृति झल्किने आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

कला, संस्कृति र मौलिक पहिचानलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नव सुन्ताखान एकेडेमी प्रथम हुँदै रु २५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। श्री चन्द्रबिन्दु बोर्डिङ स्कुल द्वितीय हुँदै रु १५ हजार, प्रारम्भ एकेडेमी तृतीय हुँदै रु १० हजार, सतुङ्गलको जेसीज इन्टरनेसनल बोर्डिङ स्कुल चौथो तथा चेकपोष्टको ब्राइट एन्जल्स इङ्लिस स्कुल पाँचौँ हुँदै रु ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्रबाट सम्मानित भएका थिए।

त्यस्तै कौशल एकेडेमी छैटौँ, फ्युजन एकेडेमी, कोटदेवी इङ्लिस स्कुल र नेसनल मोडल इङ्लिस स्कुल संयुक्त रूपमा सातौँ, एकेन मेमोरियल स्कुल आठौँ, काठमाडौं भ्याली स्कुल नवौँ तथा मिनिल्यान्ड इङ्लिस सेकेन्डरी स्कुल दशौँ स्थानमा रहेका छन्। सातौँ स्थानमा तीन विद्यालयले समान अंक प्राप्त गरेका थिए।

आयोजकका अनुसार उत्कृष्ट पाँच विद्यालयलाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र तथा उत्कृष्ट १० विद्यालयलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा सहभागी सबै विद्यालयलाई प्रमाणपत्र र ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो। प्रतियोगिताको प्रवेश शुल्क रु ३ हजार रहेको थियो।

कार्यक्रमको अध्यक्षता वर्ल्ड कल्चरल हेरिटेज काउन्सिल–लन्डनका नेपाल/भारतका राष्ट्रिय अध्यक्ष, रे फाउन्डेसनका अध्यक्ष तथा जेआईई स्कुल अफ एसियाका प्रमुख कार्यकारी अधिकृत कौशल कुमारले गरेका थिए। प्रमुख अतिथिका रूपमा प्याब्सन काठमाडौंका सहअध्यक्ष गोपाल प्रसाद आचार्य सहभागी थिए।

विशिष्ट अतिथिहरूमा वर्ल्ड कल्चरल हेरिटेज काउन्सिल–लन्डन (मुम्बई) का स्टेट प्रेसिडेन्ट अमोल गावनेर, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसाल, उपप्रमुख सान्नानी लामा, सार्क एजुकेसन फाउन्डेसनका सीईओ डा. लक्ष्मण बस्नेत लगायतको उपस्थिति रहेको थियो। साथै शिक्षा, स्थानीय सरकार, सुरक्षा निकाय तथा निजी विद्यालय क्षेत्रका विभिन्न प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नव सुन्ताखान एकेडेमीका प्रिन्सिपल तथा प्याब्सन काठमाडौंका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापाले विद्यालयस्तरमै नेपाली कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।

प्रमुख अतिथि गोपाल प्रसाद आचार्यले विद्यार्थीमा रहेको सिर्जनशीलता, प्रतिभा र सांस्कृतिक चेतनालाई उजागर गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

अध्यक्ष कौशल कुमारले नेपाली संस्कृति विश्वकै बहुमूल्य सम्पदा भएकाले यसको संरक्षण र विश्वमञ्चमा प्रवर्द्धन गर्न यस्ता गतिविधि निरन्तर आवश्यक रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *