गाङ्वोन प्रान्त सरकारको निमन्त्रणामा नगरप्रमुख घनश्याम गिरी आज दक्षिण कोरिया प्रस्थान गर्दै
थानकोट ।
चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी आज सोमबार राति दक्षिण कोरिया प्रस्थान गर्दैछन् ।
मेयर गिरी दक्षिण कोरियाको ग्याङ्वोन प्रान्तमा भोलि अक्टोबर १८ देखि सञ्चालन हुने एसियाली सहरहरूमा सहरी लचिलोपनका लागि आवास-केन्द्रित दृष्टिकोण विषयक तालिम कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
अन्तर्राष्ट्रिय सहरी प्रशिक्षण केन्द्रले सञ्चालन गर्ने यस कार्यक्रममा नेपाल, कम्बोडिया, फिजी, भारत, इन्डोनेसिया, मंगोलिया, म्यानमार, श्रीलंका र भियतमानका प्रतिनिधिले सभागिता जनाउने केन्द्रले जनाएको छ । नेपालबाट यस कार्यक्रममा सहभागिता जनाउने मेयर गिरी एक्ला सहभागी जनप्रतिनिधि हुनेछन् ।
२७ अगस्टसम्म जारी रहने कार्यक्रमको मुख्य उद्देश्य सहभागीहरूको व्यावसायिक ज्ञान तथा क्षमता अभिवृद्धि गर्नु, दिगो तथा समावेशी आवास नीतिबारे अनुभव आदान–प्रदान गर्नु र तीव्र शहरीकरण, जलवायु परिवर्तन तथा विपद् जोखिमजस्ता चुनौतीको सामना गर्न सक्षम, सुरक्षित र दिगो आवास तथा शहरी विकासका उपायहरूबारे सिकाइ प्रदान गर्नु रहेको छ ।
कार्यक्रम अन्तर्राष्ट्रिय सहरी प्रशिक्षण केन्द्र र यूएन हेबिटेटको संयुक्त आयोजनामा सञ्चालन हुँदैछ।
कार्यक्रममा सहभागीहरूले विभिन्न देशका शहरी विकास, आवास, शहरी अर्थतन्त्र तथा क्षेत्रीय विकाससम्बन्धी उत्कृष्ट अभ्यासहरूबारे जानकारी लिनुका साथै नवीन शहरी शासनका उपायहरूबारे अनुभव आदान–प्रदान गर्ने अवसर प्राप्त गर्ने अन्तर्राष्ट्रिय सहरी प्रशिक्षण केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । गाङ्वोन राज्य सरकारले प्रशिक्षण अवधिभर अन्तर्राष्ट्रिय हवाई टिकट, स्थानीय यातायात, होटल/आवास र खाना लगायतका खर्चहरू व्यहोर्ने उल्लेख गरिएको छ।
मेयर गिरी २७ अगस्टमा स्वदेश फर्कनेछन् ।











