बाढीमा बगेको ‘सेफ’ तोडफोड गरी पैसा चोरी आरोपमा धादिङमा २९ जना पक्राउ, ९२ लाख बरामद
थानकोट ।
रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको ‘सेफ’ तोडफोड गरी पैसा चोरेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ ।
उनीहरूका साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बाढीले बगाई ल्याएको पैसा राख्ने सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदीको किनारमा स्थानीयले भेटेका थिए ।
स्थानीयले उक्त सेफ तोडफोड गरी त्यसभित्र रहेको नगद आफूखुसी निकाली चोरी गरेको भन्ने प्रहरीले सूचना पाएको थियो ।
त्यसपछि प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिई उनीहरूका साथबाट उक्त रकम बरामद गरिएको धादिङ प्रहरीका डीएसपी प्रकाश दाहालले जानकारी दिए ।
“उक्त नगदको स्रोत तथा घटनामा संलग्न हुने सक्ने अन्य सम्भावित व्यक्तिहरूको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको साथै बरामद नगद र नियन्त्रणमा लिएका व्यक्तिहरूलाई थप अनुसन्धान कार्य भइरहेको,” प्रहरीले भनेको छ ।











