प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन न्युयोर्क जाने संकेत

Thankot Times

थानकोट ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को न्युयोर्क भ्रमणको तयारी सुरु गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन जाने संकेत गरेपछि परराष्ट्रले तयारी सुरु गरेको हो ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा आगामी असोजको पहिलो साता अमेरिकाको न्युयोर्कमा हुँदै छ ।

“प्रधानमन्त्रीज्यू जाने निर्णय नै भएको भने छैन । तर, उहाँले जाने संकेत गर्नुभएको कारण भ्रमणको तयारी गरिएको हो,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो ।

प्रधानमन्त्री बालेनले यसअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आफू नजाने निर्णय गरेका थिए । त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको थियो ।

भदौ १० गते रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति गरेपछि जलवायु परिवर्तनका विषय उठाउन प्रधानमन्त्री आफैँ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने संकेत बिहीबार गरेका थिए ।

त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनालको निर्देशनमा परराष्ट्रले प्रधानमन्त्रीको न्युयोर्क भ्रमणको तयारी सुरु गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ