३ दिनदेखि बन्द गरिएको नागढुङ्गा नाका अहिले साँझदेखि सञ्चालनमा, दुई तर्फी सडक खुला
थानकोट ।
गत बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएकाे बाढीका कारण बन्द गरिएको नागढुङ्गा नाका सञ्चालनमा आएकाे छ । यस नाका हुँदै त्रिभुवन राजपथ र पृथ्वी राजमार्गपनि सुचारु भएका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङकाे गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको हाे । यद्यपी त्रिभुवन राजपथमा भने यसअघि कुनै अवरोध थिएन् ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको हो ।
राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई समेत सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको मन्त्रालयले जनाएको छ ।
लेदो पन्छाउने तथा सडक खुलाउने कार्य सम्पन्न भएसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ ।
प्रहरी प्रभाग नागढुङ्गाका अनुसार बुधबार बिहान १० बजेदेखि बन्द गरिएको नाका अहिले साँझ ८ बजेदेखि खुला गरिएको हो ।
नाकाबाट बन्द गरिँदा यहाँ सयाैं सवारीसाधन लाम लागेका थिए।
फाइल फोटो











