आजदेखि नागढुङ्गा सुरुङ मार्गमा सवारी साधनको चाप थप बढ्ने
थानकोट ।
हेटौँडाबाट काठमाडौं आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा शुक्रबारदेखि नियमित रूपमा दुईतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरखण्डमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै दुवै मार्गमा दुईतर्फी सवारी आवागमन खुला गरिएको जानकारी दिए ।
त्रिभुवन राजपथले हेटौँडालाई पालुङ–नौबिसे हुँदै काठमाडौंसँग जोड्छ भने कान्ति राजमार्गले हेटौँडालाई टीकाभैरव–ललितपुरहुँदै काठमाडौं उपत्यकासँग जोड्छ ।

कृष्णभिरमा सडक अवरुद्ध भएपछि सवारी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन गत १६ भदौदेखि मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथहुँदै काठमाडौं जाने र फर्कंदा कान्ति राजमार्ग प्रयोग गर्नेगरी प्रशासनले एकतर्फी व्यवस्था गरेको थियो ।
कृष्णभिरखण्डमा सडक सञ्चालनमा आएपछि उक्त व्यवस्था हटाउँदै शुक्रबारदेखि त्रिभुवन राजपथ र कान्ति राजमार्गमा नियमित रूपमा दुईतर्फी रूपमा यातायात सञ्चालन खुला गरिएको प्रशासकीय अधिकृत सुवेदीले बताए ।
त्रिभुवन राजपथ दुईतर्फी सुचारु भएसँगै नागढुङ्गा सुरुङ मार्गमा सवारीसाधनको चाप थप बढ्ने भएको छ ।
गत भदौ १७ गते नागढुङ्गा नागमन्दिर नजिकै सडक भासिएपछि सो क्षेत्रमा सीमित सवारीसाधन मात्रै गुड्दै आएका छन् । तत्पश्चात नागढुङ्गा सुरुङ मार्ग हुँदै सवारी सञ्चालन हुँदै आएको छ ।














