नेकपा एमाले पुनर्गठन कार्यदल र सचिवालयको बैठक बस्दै

Thankot Times

थानकोट ।

आज नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै छ ।

केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा र केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने प्रतिवेदन तथा एमाले पुनर्गठन कार्यदलको प्रतिवेदनबारे निष्कर्षमा पुग्न सचिवालय बैठक बस्न लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यदलको बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ ।

यसअघि बसेको कार्यदलमा दुई वटा प्रतिवेदन आएकाले एकै प्रतिवेदन तयार गर्न बैठक आह्वान गरिएको हो । आजै कार्यदलको बैठकपछि सचिवालयको बैठक दिउँसो १ बजे च्यासलमै आह्वान गरिएको छ ।

यसअघि कार्यदलको बैठकमा प्रतिवेदनबारे समझदारी नजुटेकाले यहाँबाठ कस्तो निर्णय हुने भन्ने चासो एमाले नेता तथा कार्यकर्तामा रहेको छ ।

आज कार्यदल र सचिवालय बैठकपछि भोलिबाट केन्द्रीय कमिटीको बैठक सुरु हुँदैछ । बैठक असोज ७ गतेसम्म बस्ने तालिका एमालेले सार्वजनिक गरेको छ ।

केन्द्रीय कमिटी बैठक रामबाग महल, भनिमण्डल, ललितपुरमा बस्ने प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *