शेयर कारोबार आजबाट नियमित हुने

Thankot Times

थानकोट ।

सोमबार रोकिएको सेयर कारोबार आजदेखि सञ्चालन हुने भएको छ।

मंगलबार बिहान सूचना प्रकाशित गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लेडेटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएसँगै कारोबार नियमित हुने जनाएको छ।

नेप्सेका अनुसार ७२ वटा ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) को ब्याकअप राखिएको डेटा हब प्रालिको डेटा सेन्टरमा देखिएको प्राविधिक समस्या आएपछि सोमबार कारोबार स्थगित गरिएको थियो।   नेप्सेका अनुसार हाल ९० वटा ब्रोकर सञ्चालनमा रहेकामा ७२ वटा ब्रोकरको  तथ्यांक डेटा हबमा व्यवस्थापन हुँदै आएको छ।

उक्त घटनालाई लिएर नेपाल धितोपत्र बोर्डले घटनाबारे छानबिन गर्ने भएको छ। छ। बोर्डका अध्यक्ष गोपाल भट्टका अनुसार बोर्डले टोली खटाएर घटनाको अध्ययन तथा जाँचबुझ गर्न निर्देशन दिएको छ। बोर्डले नेप्सेलाई कारोबार रोक्नुपर्ने अवस्थाको अध्ययन गरी आगामी दिनमा घटना पुनः दोहोरिन नदिन सुधारसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।

सेयर बिक्री गर्दा लाग्ने कर हेरफेर

यसैबीच सेयर बिक्री गर्दा लाग्ने कर हेरफेर भएको छ। सोमबार राजपत्रमा प्रकाशित सूचनाअनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीको सेयर बिक्री गर्दा प्राकृतिक व्यक्तिलाई प्राप्त हुने लाभमा स्वामित्व अवधिका आधारमा दुई फरक दरले कर लाग्नेछ।

१ वर्षभन्दा बढी समय स्वामित्वमा राखिएको सेयर बिक्रीबाट प्राप्त लाभमा अब ३.७५ प्रतिशत मात्र पुँजीगत लाभकर लाग्नेछ। त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधिसम्म स्वामित्वमा रहेको सेयर बिक्रीबाट प्राप्त लाभमा ५ प्रतिशत कर कायम गरिएको छ।

यसअघि दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका थिए। ‍नेपाल सरकारले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी करका नयाँ दर लागू गरेको राजपत्रमा उल्लेख छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *