आज शनिबार कतै यात्रा गर्ने सुरमा हुनुहुन्छ ? जान्नुहोस दिनभरको माैसम पूर्वानुमान
थानकोट ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भने आंशिक बदली रहनेछ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।
यस्तै, मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका अधिकांश तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागसँगै देशका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ ।
तराईका भू–भागमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा राति हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।













