देशका केही भू-भागमा आज बदलीसँगै हल्का वर्षाको सम्भावना
थानकोट ।
देशका केही भू–भागमा आज बदलीसँगै हल्का वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ । त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा भने आंशिक बदली रहने पूर्वानुमान छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।
राति कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका तराई भू-भागमा राति आंशिक बदली रहने र बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ ।













