विश्वकप लिग-२ खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
थानकोट ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय शृंखला खेल्न जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले नेपाली टोलीको बिदाइ गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष चन्दले खेलाडी उच्च लयमा रहेकाले शृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै टोलीलाई बधाई तथा शुभकामना दिए ।
लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले २५ असोज क्यानडासँग, २७ असोजमा ओमानसँग, ३१ असोजमा क्यानडासँग तथा २ कात्तिकमा ओमानसँग खेल्नेछ ।
एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपालका लागि यो शृंखला महत्त्वपूर्ण मानिएको छ ।













