मातातीर्थ-चोभार १३२ केभी प्रसारण लाइनमा विद्युत प्रवाह हुने
थानकोट ।
नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ-चोभार खण्डको निर्माण कार्य सम्पन्न भएको छ।
प्राधिकरणका अनुसार राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गरी विद्युत प्रसारण गर्न काठमाडौं जिल्लाको मातातीर्थ सबस्टेशनदेखि चोभार सबस्टेशनसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनबाट विद्युत प्रवाह गरिनेछ।
प्राधिकरणले प्रसारण लाइनमा विद्युत प्रवाह भएपछि लाइन तथा टावरको आसपास नजान, अनावश्यक रूपमा भीडभाड नगर्न र टावरमा गाईवस्तु नबाँध्न आग्रह गरेको छ। साथै प्रसारण लाइनका संरचना तथा तारमा क्षति पुग्ने गरी जमिन खन्ने, रुख रोप्ने वा अन्य कुनै गतिविधि नगर्न अनुरोध गरिएको छ।
त्यस्तै, ‘खतरा’ संकेत भएका विद्युतीय संरचना तथा उपकरण नछुन, बालबालिकालाई प्रसारण लाइन तथा टावरबाट हुन सक्ने जोखिमबारे जानकारी गराउन र प्रसारण लाइनको मुनि कुनै पनि प्रकारको संरचना नबनाउन प्राधिकरणले आग्रह गरेको छ।
प्रसारण लाइनमा समस्या वा क्षति देखिएमा नजिकको प्रहरी चौकी वा नेपाल विद्युत प्राधिकरणको सम्बन्धित कार्यालयमा तत्काल जानकारी गराउन पनि अनुरोध गरिएको छ। प्राधिकरणले सर्वसाधारणको सुरक्षा तथा विद्युत प्रसारण प्रणालीको संरक्षणका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।













