‘घर पोत्दा ‘छेउकुना छुटे दसैँ आउँदैन, दसा लाग्छ’ भनेर आमाले भन्नुहुन्थ्यो- गोपीचन्द्र कार्की
थानकोट ।
पहिले खेतीयोग्य जमिन धेरै थियो । अहिलेका जस्ता बाटा र छ्यापछ्याप्ती घर उतिबेला थिएनन् । बस्ती पातला थिए ।
गाउँभरिका बारीका पाटामा लगाइएका मकैका बोटले घर र बस्तीलाई झ्याम्म छोपेका हुन्थे । झ्याउँकिरी र अन्य किराका आवाजले रातलाई मात्र होइन, साँझमा पनि डरलाग्दो बनाउँथ्यो ।
खेतमा धान लहलहाउँदै बाला लाग्न सुरु गरेका हुन्थे । अहिलेको जस्तो बिजुली बत्ती थिएन । उतिबेलाका पराले र टायलका घरबाट अहिलेको जस्तो कौसी, बार्दली र छतबाट आकाश र गाउँ हेर्न सकिँदैनथ्यो तर आँगन र खुला ठाउँबाट हेर्दा पनि परपरसम्म छ्याङ्ग खुलेर सबैका घर–पिँढी देखिन्थे ।
भदौ महिनातिर मकैबारीको ढोड फाँड्न थालेपछि बल्ल गाउँ छ्याङ्ग उज्यालो हुन्थ्यो । बाटाका छेउछाउका बारीमा बाली जोगाउन नर्कट गाडेर परालको जुइनो (डोरी) ले साटो लगाई बारबेर गरिएको हुन्थ्यो । मकै भाँचेपछि छरेको तोरीबारीमा पहेँलपुर फुलेको र खेतमा लहलह गर्दै धानको गाँज पसाउन लागेका हुन्थे । बारीमा भएका फर्सी, घिरौँला, लौका जस्ता लहरामा चढेका झ्याङ फाँडिन्थे । सहरमा जस्तो दसैँ फुत्त काँठमा आइपुग्दैनथ्यो । भदौदेखि मकैका बोट ढलेपछि बल्ल दसैँ काँठतिर चियाउन थाल्थ्यो । यसरी दसैँको रौनक सुस्तरी सुस्तरी, कहिले असोज त कहिले कात्तिकतिर रमाइलो चाड बनेर घरसम्मै आइपुग्थ्यो ।
दसैँ आउनुअघि घर पोत्ने चटारो सबैलाई हुन्थ्यो । घरबाहिर पोत्ने पहेँलो माटो त हाम्रै घर वरपरका बारीमा पाइन्थ्यो तर रातो माटो लिन हाम्रातिर पुरानो नैकाप, दहचोक डाँडाको वनछेउतिरै पुगेर आमा, दिदीबहिनीहरूले ल्याउनुहुन्थ्यो । यो काम निकै जोखिमपूर्ण हुन्थ्यो । दसैँका लागि माटो खन्न जाँदा ढिस्कोले पुरिएर कतिले ज्यानैसमेत गुमाएका छन् । रातो माटो ल्याउने र गोलो पार्ने काम आमाहरूले हिउँदका पुस–माघमै गर्नुहुन्थ्यो । डल्ला पारेका रातो माटो सुकेपछि बुइँगलमा जतनसाथ हामी राख्थ्यौँ । उतिबेला घरका बुइँगलमा पराल, दाउरा, अन्नपात राख्न माटाका ठुला ठुला घ्याम्पा र चोयाले बुनेका भकारी पनि राखिएका हुन्थे ।
प्रायः गाउँघरका घर रातो र पहेँलो माटोले पोतिन्थे । कसै कसैको घर कमेरो माटोले पनि पोतिन्थ्यो । रातो माटो जस्तै पिँढी पोत्ने कालो माटोको जोहो चाहिँ बाहिरबाटै गर्नुपथ्र्यो । घरको बाहिरपट्टिको एक पाटामा त हातैले रातो पहेँलो माटोले पोत्न सकिन्थ्यो । अरू तीन पाटामा खड्कुलो, बाटा जस्ता भाँडामा माटो भिजाएर बनाएको पहेँलो र रातो रङ बाल्टिनमा लिएर गिलासले छ्याप्नु पर्दथ्यो । झ्यालढोकामा कालो रङ वा अलकत्रा लगाउँथे । कतिले रेडियोका पुराना ब्याट्री फुटाएर त्यसैको कालो दल्थे । गाउँका घर पोती सकेपछि गाउँ नै बेहुली झैँ चिटिक्क हुन्थ्यो । आँगन र पर्खाल पनि लिपपोत गरिन्थ्यो । दसैँ आउनुअघि आआफ्ना घरवरपरका बाटाघाटा सफा गरिन्थे । घरभित्रका कोठामा भने सेतो कमेरोमा हरियो वा नीलो रङ मिलाएर पोतिन्थ्यो । कमेरो यतै किन्न पाइन्थ्यो तर घर पोत्ने रङ लिन भने काठमाडौँकै भीमसेनस्थान वा किलागल पुग्नुपथ्र्यो । उता राम्रो पाइने भनेर बाले उतैबाट ल्याउनुहुन्थ्यो ।
घर पोत्दा ‘छेउकुना छुटे दसैँ आउँदैन, दसा लाग्छ’ भनेर आमाले भन्नुहुन्थ्यो । हामी दसा लाग्ला, दसैँ नआउला भनेर कतै नछुटोस् भन्दै खोजी खोजी पोत्थ्यौँ । गाउँका गरिब धनी सबैका कच्ची पक्की घर दसैँमा पोतिन्थे । दसैँमा गाउँका पूरै घर पोत्दा आउने माटोको बास्नाले गाउँ नै मगमगाउँथ्यो । गारोमा रातो, पहेँलो, सेतो र झ्यालमा कालो माटो वा अलकत्राले सजाउँदा, खेतमा पहेँलपुर धान, आली–कान्लामा मास र भटमास पाकेका अनि बारीमा पहेँलपुर तोरी हुँदा गाउँ नै चित्रकारले कागजमा रङ्गाएको चित्र झैँ उज्यालो, धपक्क बले झैँ हेरिरहुँ जस्तो लाग्थ्यो र मनमा एकप्रकारको ऊर्जा पनि आउँथ्यो ।
बारीका कान्लाभरि, आँगनछेउ र जताततै सयपत्री, गोदावरी फूल ढकमक फुलेर शरद ऋतुको मौसम रोमाञ्चक लाग्दथ्यो । त्यसबेलाका ती सयपत्री थुँगे फूल अहिले कता गए होलान् ? अहिले त हाइब्रिड फूलका बिउबिजन आएपछि हिजो जस्तो देखिन छाडेको छ । उतिबेला दसैँका लागि प्रायः सबै घरमा वा सामूहिक रूपमा चिउरा कुट्ने गरिन्थ्यो । चिउरा कुट्नका लागि नयाँ धान काटेर ल्याइन्थ्यो । नयाँ धानको चिउरा कुट्न पिँढीमा दुई÷तीन वटा भुटुली (माटाका चुल्हो) बनाएर हाँडीमा धान भुटिन्थ्यो । आँगनमा रहेको उड्कल (ओखल) मा दुई जनाले लुसी र नाम्लेकाठ (चिउरा चलाउने बाँसको लामो भाटा) लगाएर चिउरा कुट्थे । यो काम अर्मपर्मबाटै हुन्थ्यो । हामी केटाकेटी भने चिउरा कुट्न हाँडीमा भुटेको धान उड्कलसम्म हाल्न सघाउँथ्यौँ । सक्ने भएपछि आफैँले कुटेका छौँ । तातो पानीमा भिजाएको धानलाई हाँडीमा बाँसका कप्टेराले चलाएर भुट्दै उड्कलमा राख्दै लुसीले कुटिन्थ्यो । बलियाहरू चिउरा कसले कति घानसम्म कुट्न सक्ने भनेर प्रतिस्पर्धा नै गर्थे । चिउरा कुटेपछि नबिग्रियोस्, लट्टा नपरोस् भनेर मटानभरि सुकाइन्थ्यो । दसैँमा गाउँ चिउरामय हुन्थ्यो र चिउराको बास्नाले गाउँ नै मगमगाउँथ्यो । यही बेला कतिले मङ्सिर महिनामा धान काट्ने खेतालाका लागि पनि चिउराको जोहो गर्दथे ।
प्रायः सबैले खसी, बोका, च्याङ्ग्रा दसैँका लागि जोरजाम गरेका हुन्थे । काँठका गाउँघरमा त धेरैजसोले आफ्नै घरमा दसैँका लागि भनेर खसी–बोका पहिलेदेखि नै पालेर राखेका हुन्थे तर कतिपय घरमा भने मायाले पालेको खसीबोका काट्न नसकी त्यसलाई सहर पुर्याएर टुँडिखेलमा बेचेर अर्को किनेर ल्याउँथे । टुकुचा र कलङ्कीनजिक बल्खु खोलाको किनारमा भने धेरैपछि खसीबोका बेच्न थालिएको हो । खसीबोका बेच्न थालेपछि नै यस ठाउँको नाम ‘खसीबजार’ हुन पुगेको हो ।
दसैँको अर्को रमाइलो लिङ्गेपिङ हो । उतिबेला काँठका गाउँ, चोक, दोबाटामा लिङ्गेपिङ र कतिपय ठाउँमा रोटेपिङ हालेकै हुन्थ्यो । दसैँमा हालेको पिङ तिहारसम्म खेल्न पाइन्थ्यो । अलि ठुलो भएपछि पिङ बनाउने काममा बुढापाकाहरूलाई सघाउँदासघाउँदै हाम्रै काँधमा यो संस्कृतिको जगेर्ना गर्ने जिम्मा आयो । पिङका लागि मच्छेगाउँको ढाक्सीतिर पुगेर बाबियो ल्याउँथ्यौँ । त्यसलाई बुढापाका वा जान्नेहरूले डोरी बाटेर लठारो बनाउनुहुन्थ्यो । पिङका डोरी बाट्न तीन पोया, तीन जनाले समातेर घुम्नु पर्दथ्यो । पिङ हाल्नका लागि चार वटा बलिया मिलेका बाँस खोज्न टाढा जानु पर्दैनथ्यो, गाउँघरमै पाइन्थ्यो । यसबाहेक पिङ झुन्ड्याउनका लागि बलियो काठको गरालो र काम्रोको पनि जोहो गर्नु पर्दथ्यो । पिङ हालेपछि बिहान र बेलुका हामी त्यतै हुन्थ्यौँ । चिसो ठिहीमा राति अबेलासम्म पनि पालैपालो पिङ खेलेर बस्थ्यौँ ।
बजारमा पिङको डोरी आएपछि भने पैसा उठाएर तयारी सनपाटको पिङको डोरी किन्ने चलन आयो । गाउँ गाउँमा सार्वजनिक थलोको कमी हुनु, युवाको यसप्रति कम झुकावका कारण अहिले त पिङ हाल्ने काम हिजोको जस्तो उत्साह छैन । पिङ संस्कृति नै मासिन लागेपछि अचेल प्रहरीले गाउँठाउँमा पिङ हाल्न थालेको देखिन्छ । अहिलेको पुस्तामा दसैँतिहारमा खेलिने पिङ होस् वा लङ्गुरबुर्जा वा चङ्गा उडाउनमा उत्साह देखिँदैन । घरघरमा मोबाइलमै रमाएको देखिन्छ ।
गण्डकीतिर पिङमा इष्टमित्रहरूलाई निम्ता दिएर रोदी खेल्ने चलन रहेछ । रोदी खेल्न निम्ता दिने चलनलाई ‘देशाली’ भन्दा रहेछन् । बैतडी, डोटी र कैलालीतिर पिङलाई ‘लठे’ भनिँदो रहेछ भने मनाङमा ‘कांकर’ । पिङ सबै पुस्ता माझ लोकप्रिय भएर नै होला एक रुपियाँको नोटको पछाडिपट्टि लिङ्गेपिङको चित्र राखिएको थियो । दसैँको टीका थापेपछि आफ्नो भारबाट पृथ्वीमातालाई छुटकारा दिनु पर्छ भनेर एक पटक पिङ खेल्ने गरिएको पाइन्छ ।
हाम्रो पुस्ताले हिजोको दसैँतिहार र आजको प्रविधियुक्त दसैँतिहार दुवै देख्न पाएका छौँ । अहिलेका बालबालिका दसैँ आउँदा त्यति खुसी भएको देखिँदैनन्, जति हामी हुन्थ्यौँ । उनीहरू मोबाइल र ल्यापटपमै बढी रमाएका देखिन्छन् । नयाँ लुगा लगाउने, मासु खाने, पिङ खेल्ने, चङ्गा उडाउने उतिबेलाको मजा अहिले सामाजिक सञ्जालमा रमाउनेहरूलाई के थाहा ? केटाकेटीदेखि नै समाज र ठुलासाना सबैसँग घुलमिल हुने वातावरण हाम्रा चाडपर्व, संस्कृति र संस्कारले सिकाउँछ तर सामाजिक सञ्जालले मानिसलाई एक्लो र स्वार्थी बनाउँदै लगे जस्तो लाग्छ ।
केटाकेटी हुँदा हामीलाई दसैँ र तिहार अति नै रमाइलो लाग्थ्यो । रमाइलो हुनुका खास कारण नयाँ लुगा, जुत्ता लगाउन पाइने, मासुभात खान पाइने, पिङ खेल्न पाइने र मामाघर जाँदा दुई÷चार पैसा हात पर्ने भएकाले नै हो । स्कुल जाँदा पाउने सुका–मोहरबाहेक उतिबेला हाम्रा लागि पैसा निकै महँगो थियो । त्यसबाहेक अरू बेला हाम्रा हातमा पैसा पर्दैनथ्यो । अर्को दसैँभरि ढिँडो नपाक्ने हुँदा भात खान पाइने, खाजा चिउरा र मासुका परिकार खान पाइन्थ्यो । हिजो नेपालीका लागि दसैँ नयाँ लुगा र मासु खाने चाडका रूपमा हेरिन्थ्यो । आर्थिक विपन्नताका कारण बाआमाका पालामा त आफू नलगाएर छोराछोरीलाई ऋण काढेरै भए पनि नयाँ लुगा हालिदिने र मासुको जोहो गर्ने चलन थियो । बाआमाका समयमा घुँडा फेरेको सुरुवाल, ठाउँ ठाउँमा टालेको कमिज लगाउनु सामान्य थियो । ‘घाँटी हेरी हाड निल्नु’ भन्ने उखानलाई उहाँहरूले पालना गर्नुहुन्थ्यो । उतिबेला दसैँ कति नेपालीका लागि ‘आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई’ पनि हुन्थ्यो ।
जमरा राख्नका लागि बिहानै नुहाइधुवाइ गरेर काम्दै माटो लिन जानु पथ्र्याे । नौरथाभरि खोलामा पुगेर नुहाउनु पथ्र्यो । खोलामा बिहानै नुहाएर जमरा राखेको स्थानमा दुर्गाकवचको सानो हातेपुस्तक पढ्न लगाउनुहुन्थ्यो बाआमाले । बाबियो र कुशले बनाएको गोलो कुशासनमा बसेर जमराको पूजा बिहान–बेलुका नै गर्नुपथ्र्यो । नौरथाभरि बल्खु खोलामा नीला ओठ पारेर काम्दै नुहाउन जान्थ्यौँ । उसबेला असोज–कात्तिकमा निकै चिसो बढेको हुन्थ्यो । मङ्सिर लाग्दा त ठाँटो नै जम्थ्यो । काठमाडौँ हनुमानढोकामा गोरखा दरबारबाट धादिङको जीवनपुरसम्म मगरहरूले ल्याएको फूलपाती यहाँबाट जमल र जमलबाट ब्राह्मणहरूले बोकेर हनुमानढोका दरबारको दसैँघरमा भित्र्याउँथे र बढाइँ चल्थ्यो । यो चलन अहिले पनि चलेकै छ । टुँडिखेलमा फूलपातीका दिन पड्काउने तोपको आवाज काँठसम्म आइपुग्थ्यो । अनि काँठका मानिस पनि घर घरमा राखेको जमराघरमा साइत छोप्दै फूलपाती भित्र्याउँथे ।
रमाइलोको साधन त्यतिबेला रेडियो पनि थियो । गाउँ थर्कने गरी नौरथाभरि रेडियोले मालश्री, मङ्गलधुन र दुर्गा–महिषासुर युद्धको नाटक बजाउँथ्यो । रेडियो हुनेहरूले घरको गारो वा थाममा किला ठोकेर झुन्ड्याउँथे । कतिले झ्यालमा राखेर गाउँ थर्कने गरी बजाउँथे ।
अचेल युवापुस्ता सबै बिदेसिएकाले दसैँ मान्न यता आउनेभन्दा पनि उतै मनाउन थालेका छन् । अझ बाबुआमा र परिवारलाई उतै बोलाउन थालेका छन् । कलाकार पनि हुलका हुल दसैँको अवसर पारेर उतै जान थालेका छन् । पहिले गाउँ गाउँमा हुने सांस्कृतिक कार्यक्रम अहिले दसैँमा यताभन्दा पनि विदेशतिर धेरै हुन थालेको छ । यसले विदेशमा बस्ने नेपालीले चाडपर्वलाई आफ्नै बसोबासको ठाउँमा मनाउन थालेको देखाउँछ ।














