ह्यरी केनलाई बालोन डी’ओर अवार्ड

Thankot Times

थानकोट ।

इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको बालोन डी’ओर अवार्ड जितेका छन् ।

केनले केलियन एमपाप्पे, लामिन यामललगायत खेलाडीलाई पछि पारे । सन् २०२५–२६ को सिजनमा क्लब र देशका लागि उत्कृष्ट प्रदर्शन गरेका केनले यो अवार्ड हात पारेका हुन् ।

यससँगै केन पछिल्लो २५ वर्षपछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन् । पछिल्लोपटक सन् २००१ मा माइकल ओवेनले यो अवार्ड जितेका थिए ।

सन् २०२५–२६ को सिजनमा उनले उपाधिसँगै व्यक्तिगत गोलको कीर्तिमान समेत कायम गरे ।

इंग्ल्यान्डका कप्तान केनले उक्त सिजन बायर्नका लागि सबै प्रतियोगितामा गरी ५१ खेलमा ६१ गोल गरेका थिए । उनको उत्कृष्ट प्रदर्शनमा बायर्नले जर्मनीको घरेलु लिग र कप दुवै उपाधि जित्दै सिजनको अन्त्य गरेको थियो ।

केनले राष्ट्रिय टोलीमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

विश्वकपमा ६ गोल गरेका केनको नेतृत्वमा इंग्ल्यान्डले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

त्यस्तै, स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रोपटक महिलातर्फको बालोन डी’ओर (बालोन डी’ओर फेमिनिन) अवार्ड जितेकी छन् ।

उनले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाबाट खेल्दै घरेलु लिगसहित तीन प्रमुख उपाधि (ट्रेबल) जितेकी थिइन् । त्यसबाहेक बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधिसमेत जितेको थियो ।

पुटेलास हाल महिला सुपर लिग क्लब लन्डन सिटी लायनेसमा आबद्ध छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *