नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: विराटनगर किंग्स ४ विकेटले विजयी, पोखरा प्लेअफ होडबाट बाहिरियाे
थानकोट ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलेलाई ४ विकेटले पराजित गरेकाे छ । जितका लागि पोखरा एभेन्जर्सले दिएकाे १३३ रनको लक्ष्य विराटनगर किंग्सले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्याे ।
विराटनगरकाे याे तेस्राे जित हाे । विराटनगर ६ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । पोखराले भने आफ्नो ६ वटा खेलमा एक मात्र खेल जितेर २ अंकसहित तालिकाको पुछारमा छ ।
पोखराको भने छैटौं खेलमा यो पाँचौ हार हो । यो हारसँगै पोखरा प्लेअफ होडबाट बाहिरिएको छ ।
विराटनगरका लागि बसिर अहमदले ३७ रन बनाए । ओपनर लोकेश बमले २७ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३३ रन जोडे । इसुरु उडानाले १२ बलमा अविजित २५ रन योगदान गरे । उनले विजयी चौका प्रहार गरेका थिए ।
बलिङमा पोखराका लागि कुशल भुर्तेल र रमेश मेन्डिसले २–२ तथा विपिन खत्री र धनन्जय लक्षणले १–१ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा सबै विकेट गुमाएर १३२ रनमा समेटिएको थियाे ।
विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गरेपछि पोखरा सस्तैमा समेटिएको हो । उनले ह्याट्रिकसहित ६ विकेट लिँदै पोखराको ब्याटिङ धराशायी बनाए ।
सन्दीप यस सिजन एनपीएलमा एकै खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन् । उनले प्रतियोगिताको आफ्नो छैटौँ खेलमा यो उपलब्धि हासिल गरेका हुन् ।
पोखरा एभेन्जर्सका युवराज सिंह साम्राले अर्धशतक प्रहार गरेपनि त्याे जितका लागि पर्याप्त हुन सकेन । उनले ४७ बलमा ४ चाैका र ५ छक्कासहित सर्वाधिक ८४ बनाए ।
यस्तै, धनन्जय लक्षणले २२ र सन्नी विकले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । पोखराका कुशल भुर्तेल, रमेश मेन्डिस, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्नाले खाता समेत खोल्न सकेनन् ।
पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा विराटनगर कप्तान लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए । उनले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिएका हुन् । यस्तै, एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले १–१ विकेट हात पारे ।











