चन्द्रागिरिमा आज निकै चिसो महशुस, ८ डिग्रीमा झर्यो तापक्रम

Thankot Times

थानकोट ।

हिजो बुधबारभएको वर्षासँगै काठमाडौं लगायत देशभर चिसो बढेको छ ।

देशभरको तापक्रम बिस्तारै घटिरहेको छ ।

बिहीबार (कात्तिक २६)) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यो तापक्रम यस वर्ष अर्थात् ०८३ साल लागेयताकै कम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोही समयमा बुधबार (कात्तिक २५) काठमाडौंको न्यूनतम तापक्रम १०.२ र मंगलबार (कात्तिक २४) १०.० डिग्री मापन गरिएको थियो । यस वर्ष यसअघि काठमाडौंको कम न्यूनतम तापक्रम कात्तिक २३ र २४ गते समान १०.० डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

बिहीबार बिहान महाशाखाले सार्वजनिक गरेको १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –३.४ डिग्री छ । बुधबार जुम्लाको न्यूनतम तापक्रम –१.० र मंगलबार –०.५ डिग्री थियो ।

यस दिन डडेलधुराको न्यूनतम तापक्रम ८.२, ताप्लेजुङको ८.५, ओखलढुंगाको ९.६, धनकुटाको ११.०, दिपायलको १२.५, वीरेन्द्रनगरको १३.०, पोखराको १४.० डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ मा मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

“हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ,” महाशाखाले भनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *