भीमफेदी दुर्घटना: मृतक १४ जनाकै पहिचान खुल्यो
थानकोट ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु हुने चालकसहित १४ जनाकै पहिचान खुलेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा सर्लाहीको कविलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशङ्कर कुमार मण्डल रहेका छन्। त्यस्तै, सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका विकेश यादव (२६), पुनम यादव (३५), शिक्षा यादव (७), दीपिका यादव (५), अनु कुमारी यादव (१०), गुड्डु यादव (३५/३६), गायत्री देवी यादव (३०/३२), रामदुलार यादव (२५/२६), सुबोध यादव (२४/२५), रोहन यादव (१५), राकेश यादव, छोटु भनिने रामप्रवेश यादव र सुदेश यादवको मृत्यु भएको छ।
पुनम यादव अवधेश यादवकी श्रीमती हुन् भने शिक्षा, दीपिका र अनु कुमारी उनका छोरी हुन्। त्यस्तै, गायत्री देवी यादव गुड्डु यादवकी श्रीमती हुन्। मृतक १४ जनामध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका रहेका छन्।
दुर्घटनामा घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव, ३ वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भनिने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदीप यादव रहेका छन्।
घाइतेमध्ये मुकेश यादव, सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन्। तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदीप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल तथा ३१ वर्षीय देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको छ।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हाइस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो।











